
१४ पुस, चितवन। तनहुँको भानु नगरपालिका वडा नं. ११ ढाडफेदीमा सार्वजनिक गौचरन अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन नगरपालिकाले सूचना जारी गरेको छ ।
सो क्षेत्रमा रहेको ५७ रोपनी सार्वजनिक जग्गा मिचेर बनेका १० वटा घर र त्यहाँ बनेका अस्थायी संरचना ३५ दिन भित्र हटाउन नगरपालिकाले सूचना जारी गरेको वडा नं. ११ का वडाध्यक्ष बिमलराज जोशीले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय तनहुँले घर टहरा हटाउन नगरपालिकालाई लेखेर पठाएपछि नगरपालिकाले निर्णय कार्यान्वयनका लागि भन्दै सूचना जारी गरेको वडाध्यक्ष जोशीले बताए ।
उनले आजको मितिबाट ३५ दिन भित्र घर टहरा हटाउन र नहटाए नगरपालिकाले हटाउने आशयको सार्वजनिक सूचना टाँस गरिएको बताए ।
घर टहरा हटाउने सन्दर्भमा सर्वपक्षीय बैठकबाट समेत निर्णय गरिएको जोशीले बताए ।
तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले सार्वजनिक जग्गा मिचेर घर टहरा लगायतका संरचना हटाउन नगरपालिकाललाई लेखेर पठाएको बताए ।
उनले नगरपालिकाले प्रशासनको थप सहयोग माग गरेमा तत्कालै शान्ति सुरक्षाका लागि तथा संरचना भत्काउन जनशक्ति परिचालन गर्ने बताए ।
पहिले सार्वजनिक विद्यालयसमेत रहेको सो क्षेत्रमा सोही वडाका स्थानीयवासिन्दाले मिचेर घर टहरा बनाएका छन् ।
टोल सुधार समितिका अध्यक्ष दिलिप मल्लका अनुसार अहिले सो ठाँउमा अस्थायी घर टहरासहित कुखुरा पाल्ने, बाख्रा पाल्ने, रक्सी बनाउने जस्ता कार्य हुँदै आएको छ ।
यसअघि २०७८ कार्तिक २३ गते जिल्ला प्रशासन कार्यालय तनहुँमा बसेको सर्वदलीय बैठकले त्यहाँ बनेका संरचना हटाउने निर्णय गरे पनि अहिलेसम्म कार्यान्वयनमा आएको छैन ।
प्रतिक्रिया 4