
१४ पुस, जनकपुरधाम । मधेश प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा कृष्णप्रसाद यादव निर्वाचित भएका छन् । पार्टीको मधेश प्रदेश सभापति रहेका उनले १८ मत पाउँदा अर्का उम्मेदवार रामसरोज यादवले जम्मा ४ मत पाए ।
मधेश प्रदेशसभामा कांग्रेसका २२ सांसद छन्, जसमध्ये संस्थापन पक्षको १८ र शेखर कोइराला पक्षका ४ जना थिए ।
दलको नेताका लागि बिहान ९ देखि १० बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो । संस्थापन पक्षका एक सांसदका अनुसार मनोनयन दर्ता अघिसम्म रामसरोजलाई उम्मेदवारी दिनबाटै रोकेर कृष्णको नाममा सर्वसम्मति गर्ने प्रयास भएको थियो ।
विमलेन्द्र निधिसँग निकट रामसरोजले दलको नेतामा दाबी छाडेनन् । दुबै जनाको उम्मेदवारी पर्ने पक्का भयो । तर पार्टी संस्थापन पक्षले कृष्णको पक्षमा लाग्न निर्देशन दिएपछि रामसरोजले प्रस्तावक र समर्थक समेत पाउन सकेनन् । उनले डा. शेखर कोइराला पक्षसँग सहयोग मागे ।
निर्वाचन परिणाम जे आएपनि समूह नछाड्ने प्रतिवद्धता रामसरोजले जनाएपछि इतर पक्ष सहयोग गर्न तयार भयो । ‘दुईतीन चरण रामसरोज र शेखर पक्षबीच छलफल भयो । उहाँले निर्वाचन परिणाम जे आएपनि शेखर पक्षमा लाग्ने शर्तमा हाम्रो पक्षले सहयोग गर्यो’, शेखर पक्षका नेता सुरेश कोइरालाले खुलाए ।
शेखर पक्षका कौशल किशोर राय प्रस्तावक र जिवछीकुमारी यादव समर्थक बसेपछि रामसरोजको मनोनय दर्ता भयो । रामसरोज थपिँदा आफ्नो पक्षका सांसद संख्या ५ पुग्ने शेखर समूहको बुझाइ थियो । तर चुनावमा कृष्णले १८ मत पाउँदा रामसरोज ४ मतमै सीमित भएका छन् । इतर पक्षको एक सांसदले संस्थापन पक्षतिर भोट क्रस गरेको नेता कोइराला बताउँछन् ।
रामसरोज लामो समय संस्थापन पक्षका नेता थिए । २०७४ मा तत्कालीन पार्टी उपसभापति बिमलेन्द्र निधि चुनाव लडेको धनुषा निर्वाचन क्षेत्र नं. ३ को बाट रामसरोजले प्रदेशसभामा चुनाव जितेका थिए । संस्थापन पक्ष र निधिको विश्वास पात्र उनले सर्वसम्मत दलको नेता पनि चुनिए । मधेश सरकरमा कांग्रेस सहभागी हुँदा महत्वपूर्ण भौतिक पूर्वाधार विकास मन्त्रालय पाए ।
कांग्रेसको १४औं महाधिशनमा विमलेन्द्र निधिले सभापतिमा चुनाव लड्दा रामसरोज उनीतिरै लागे । संस्थापन समूहले प्रदेश सभापतिमा कृष्णलाई अघि सार्दा निधि पक्षले रामसरोजलाई उम्मेदवार बनायो । त्यो चुनाव पनि कृष्णले सहजै जिते । कृष्णले ९९६ मत पाउँदा रामसरोजले ८५५ मत पाएका थिए ।
नेताहरुका अनुसार पूर्वउपसभापति निधिले जसरी पछिल्लो समय सभापति शेरबहादुर देउवासँग सम्बन्ध सुधार गरेका थिए, राजसरोजले पनि संस्थापन पक्षमा सम्बन्ध बनाएका थिए । तर दलको चुनावमा प्रतिस्पर्धा गर्दा उनी संस्थापन समूहबाट बाहिरिएका छन् र डा. शेखर कोइराला समूहमा पुगेका छन् ।
प्रतिक्रिया 4