+

श्याम थापातर्फ इशारा गर्दै पेलेले भने– २२ नम्बर इज गुड

२०७९ पुष  १५ गते ११:३६ २०७९ पुष १५ गते ११:३६
श्याम थापातर्फ इशारा गर्दै पेलेले भने– २२ नम्बर इज गुड

१५ पुस, काठमाडौं । ब्राजिलका महान खेलाडी पेलेको गएराति (बिहीबार राति) ८२ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरबाट पीडित उनको साओ पाउलोस्थित अलवर्ट आइन्स्टाइन अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

अदभूत फुटबल कलाका कारण पेलेका समर्थकहरु संसारभर थिए । न्युयोर्क कसमस क्लबका लागि व्यवसायिक फुटबल खेलिरहेका पेले सन् १९७७ मा प्रदर्शनी खेल खेल्न ३ दिनका लागि भारत आएका थिए ।

कोलकातास्थित इडेन गार्डेन रंगशालामा करिव ६० हजार समर्थकमाझ कोलकाताकै स्थानीय क्लब मोहन बगानसँग पेलेको टिमले एउटा खेल खेलेको थियो । सो खेलमा एकजना नेपाली मूलका खेलाडी श्याम थापाले मोहन बगानबाट खेलेका थिए ।

गुल्मीमा जन्मिएका श्याम थापा भारतीय सेनामा कार्यरत पितासँगै रहने क्रममा भारतमै हुर्किए । उनले भारतकै लागि फुटबल खेलेका हुन् । सन् २००४ यता उनले करिव ८ वर्ष नेपालको उमेर समूहदेखि राष्ट्रिय फुटबल टिमको प्रशिक्षण गरेका थिए ।

केही महिनाअघि श्याम थापा नेपाल आएको समयमा खेलाडी डट कम र हाम्रो फुटबल फ्यान नामक संस्थाले उनीसँग साक्षात्कार गरेको थियो । थापाले ४५ वर्षअघि कोलकातामा पेलेको आगमन र फुटबल माहोल सम्झँदा अहिले पनि उत्साहित हुने बताएका थिए ।

‘पेले एसियामै पहिलोपल्ट आएका थिए । उनलाई हेर्न भारतभरबाट र नेपालबाट समेत मानिसहरु आएका थिए,’ थापाले त्यो खेलअघिको माहोल सम्झिए, ‘इडेन गार्डेनमा ९० हजार समर्थकले एउटै स्वरमा पेले… पेले…नारा लगाउँदा छुट्टै रौनक थियो । रंगशाला बाहिर पनि २०÷२५ हजार थिए होलान् ।’

पेलेको टिमसँग मोहन बगान टिम २–१ ले पराजित भयो । खेलपछि पत्रकारहरुसँगको कुराकानीमा पेलेलाई सोधियो, ‘भारतका खेलाडीमध्ये कुन राम्रो लाग्यो ?’

मोहन बगानका लागि २२ नम्बर जर्सी लगाएका थापाले भने, ‘उनले जर्सी नम्बर २२ इज गुड भनेछन् ।’

भारत आउँदा पेले ३७ वर्षका थिए । थापाका अनुसार पेलेले खेलमा गोल भने गरेनन् ।

पेले श्याम थापा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय