
१६ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सरकारमा जाने कि नजाने विषयको छलफल पार्टीको पोलिटब्यूरो बैठकसम्म जानसक्ने बताएका छन् ।
पार्टी कार्यालय, आलोकनगरमा शनिबार बसेको पार्टी स्थायी कमिटीको बैठकबारे जानकारी दिंदै उपमहासचिवसमेत रहेका खतिवडाले स्थायी कमिटी सदस्यहरुले आफ्नो विचार राखिरहेको बताए ।
भोलिसम्म बैठक चल्न सक्ने भन्दै उनले भने, ‘सरकार गठन गर्दा पुरानो गठबन्धन क-कसका कारण तोडियो र नयाँ सरकारबारे हाम्रो धारणा के हुनुपर्छ भनेर धारणा आइरहेको छ । सरकारमा जाने वा नजाने विषयमा पोलिटब्यूरोमा पुगेर टुंगो गर्ने स्थिति पनि हुनसक्छ ।’
एमालेको एकताबारे सोधिएको प्रश्नमा खतिवडाले कुनै पनि एकता गर्ने प्रस्ताव नगरेको र त्यसमा आफूहरुको रुचि नभएको बताए ।
यो वा त्यो पार्टीसँग एकता गर्न लागेको भन्ने हल्ला मात्र भएको उनले बताए । ‘औपचारिक वा अनौपचारिक दुवै कोणबाट यस्तो कुरा भएको छैन’ खतिवडाले भने, ‘पार्टी विलय वा एकीकरण गर्ने गरी हामीले काम गरेका पनि छैनौं । त्यसमा हाम्रो रुचि छैन ।’
वाम एकताका लागि एजेण्डाहरुमा एकता गर्ने आफूहरुको रुचि भएको समेत खतिवडाले बताए ।
प्रतिक्रिया 4