
१६ पुस, काठमाडौं । बागमती प्रदेशसभामा नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा शालिकराम जम्मकट्टेल चयन भएका छन् ।
शनिबार बसेको प्रदेशसभा संसदीय दलको बैठकले जम्मकट्टेललाई सर्वसम्मत दल नेता चयन गरेको प्रदेशसभा सदस्य युवराज चौलागाईंले जानकारी दिए । २०७४ सालमा पनि बागमती प्रदेशसभा सदस्यमा धादिङ–१ (२) बाट निर्वाचित जम्मकट्टेल प्रदेशको आन्तरिक मामिला र आर्थिक मामिलामन्त्री भइसकेका छन् ।
दलको नेतामा जम्मकट्टेलसँगै गंगा श्रेष्ठ, सरल सहयात्री पौडेल र युवराज दुलाल पनि आकांक्षी थिए । प्रदेश अध्यक्ष समेत रहेका सरल आफ्नो नाममा सहमति नभए चुनाव लड्न चाहन्थे । ‘उहाँले एक भोट आएपनि आओस्, तर चुनाव गरौं भन्नुभएको थियो,’ एक प्रदेशसभा सदस्य भन्छन्, ‘कसले भोट हाल्यो, कसले हालेन भन्ने हुन्छ । चुनाव नगरौं भन्ने नेतृत्वको प्रस्ताव रह्यो ।’
सरल नमानेपछि इन्चार्ज हितमान शाक्यले प्रदेशसभा सदस्यहरुसँग छुट्टाछुट्टै छलफल गरेका थिए । त्यसअनुसार शालिकरामको नाम प्रस्ताव गरे ।
चुनाव नहुने भएपछि प्रदेशसभा सदस्य सरल ‘ल बधाई छ, म चाहिँ हिडेँ’ भन्दै बैठक कक्षबाट बाहिरिएका थिए । उनले सामाजिक सञ्जालमा जम्मकट्टेलतर्फ इंगित गर्दै छिर्के हानेर जितेको टिप्पणी गरेका छन् । ‘छिर्के लगाएर पनि गेम त जितिन्छ तर मन जितिँदैन । जबसम्म मन जितिँदैन, केही पनि जितिँदैन’, उनले सामाजिक सञ्जाल फेबसुकमा लेखेका छन्, ‘म हरेक पटक छिर्के लगाएर लडाइएपनि धुलो टक्टक्याउँदै कुदिरहेको धावक हुँ ।’
उनले निर्णयमा लिखित वा मौलिक रुपमा कुनै असहमति वा फरक मत भने नराखेको एक प्रदेशसभा सदस्यले जानकारी दिए ।
प्रतिक्रिया 4