
काठमाडौं । पकाउने कलामा आधारित टेलिभिजन रियालिटी शो ‘सेफ नेपाल’को छायांकन सेट सार्वजनिक गरिएको छ ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा भक्तपुरको थिमिस्थित रोयल थाई हस्पिटालिटीको प्रांगणमा सेट सार्वजनिक गरियो । शोका मास्टर जज सेफ सन्तोष साहले सेट ढाकिएको पर्दा झारी सेट अनावरण गरे । अन्य जजहरु सेफ गणेश ढकाल र भान्से लक्ष्मण भण्डारी पनि उक्त अवसरमा उपस्थित थिए ।
निर्माता धर्मराज पाण्डेले कार्यक्रमको तालिका, प्रतियोगी तथा शोको उद्देश्यबारे प्रकाश पारे । उनले भने, ‘टेलिभिजनको पर्दाबाट खाना पकाउँदै दर्शकलाई मनोरञ्जन प्रदान गर्ने हाम्रो उद्देश्य हो । नेपाली खानाको प्रवद्र्धन, सेफ जगतको उत्थान, पाक कलाबारे चेतना, खाना र स्वास्थ्यको सम्बन्ध लगायत अनेक महत्वपूर्ण विषय यो शोले उजागर गर्नेछ ।’
छायांकन सेट सार्वजनिक भएपछि सुटिङ पनि चाँडै सुरु हुने उनले बताए । ८० जनाले भाग लिने शो १८ इपिसोडको हुनेछ । ‘सेफ नेपाल’ हिमालय टीभीबाट प्रसारण हुनेछ ।
शोका विजेताले नगद २५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । १० लाखभन्दा बढीको उपहार दर्शकले शोको क्विज सेग्मेन्टमार्फत प्राप्त गर्नेछन् । शोले नेपाली खानाबारे ज्ञान, नयाँ परिकार, खाना पस्किने कला लगायत पक्षलाई समेट्ने भएको छ ।
नेपालको ‘गेस्ट्रोनोमी टुरिजम’लाई समेत शोले सघाउने आशा लिइएको छ ।
तस्वीरहरु
प्रतिक्रिया 4