+
+

फिल्म निर्देशनबारेको पुस्तक ‘डाइरेक्टिङ फिचर फिल्म्स’ नेपाली भाषामा अनुवाद

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १७ गते १३:०६

काठमाडौँ । दुई दशकअघि अमेरिकामा प्रकाशित फिल्म निर्देशनसम्बन्धी पुस्तक ‘डाइरेक्टिङ फिचर फिल्म्स’को नेपाली अनुवाद प्रकाशन भएको छ । ‘महानगर’ फिल्म निर्देशक मोहन राईले अनुवाद गरेको पुस्तकलाई अभि सुवेदी, जोएल हिबोनेट, नविन सुब्बा, सुस्मा राईले संयुक्त रुपमा विमोचन गरे ।

पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै युरोपियन युनियनकी उपराजदूत हिबोनेटले फिल्म सञ्चारको सशक्त माध्यम भएको बताउँदै पुस्तक प्रकाशनले यो माध्यमको शक्तिलाई थप प्रभावशाली बनाउन मद्दत गर्ने धारणा राखेकी थिइन् ।

‘युरोपियन युनियनले पनि फिल्मको माध्यमलाई महसुस गरी नेपालमा युरोपियन फिल्म फेस्टिभल गरिरहेको छ’ उनले भनिन्, ‘यस्ता किताबको प्रकाशनले नेपाली फिल्मकर्मीलाई थप प्रतिस्पर्धी सिनेमा बनाउन मद्दत गर्छ भन्ने विश्वास छ ।’

पुस्तक प्रकाशक मिडलवे फिल्मस्की प्रवद्र्धक सुस्मा राईले निर्देशक मोहन राई आफ्नो भाइ भएको र उनले फिल्म निर्माणसँगै यसको प्राज्ञिक काममा योगदान गरिरहेको देख्दा असाध्यै खुसी लागेको बताएकी थिइन् ।

निर्देशक सुब्बाले निर्देशनसम्बन्धी आफूले पढेका किताबमध्ये आफूलाई मन परेको किताब राईले अनुवाद गरेकोमा आफूलाई इष्र्या लागेको बताउँदै यो किताब अगाडि राखेर मात्र पनि फिल्म निर्देशन गर्ने हो भने अहिले बनिरहेभन्दा उत्कृष्ट नेपाली फिल्म बनाउन सकिने धारणा राखेका थिए ।

‘हामी आर्ट सेक्टरमा काम गर्ने मान्छे पढ्ने कुरामा रुति राख्दैनौँ । जन्मजात प्रतिभा लिएर आएका छौँ । मैले किन अरुको कुरा पढ्ने, सिक्ने भन्ने सोच छ । तर विश्वमा धेरै राम्रा राम्रा काम भइरहेका छन् । यो पुस्तक त्यस्ता धेरै राम्रा कामहरूको संश्लेषण हो’ उनले भने, ‘जानेको कुरालाई झन् तिखार्नुपर्छ । यसरी तिखार्ने काम यस्तै पुस्तकले गर्छन् ।’

उनले पुस्तक दुई दशकअघि प्रकाशनअघि भएकाले पछिल्लो समयको ज्ञान यसमा नसमेटिए पनि अनुदित किताब हरेक फिल्मकर्मीको ‘बुकसेल्फ’मा हुनैपर्ने किताब रहेको जिकिर गरेका थिए ।

अनुवादक राईले दिग्गज फिल्मकर्मीसँगको अन्तर्वार्तामा आधारित ‘जक्स्टापोजिसन’ प्रकाशन गरेका छन् । धेरै वर्षपहिले सार्वजनिक यो पुस्तक सार्वजनिकीकरणमा पनि वक्ता रहेका लेखक अभि सुवेदीले मोहन राई आफ्नो प्रिय शिष्यमध्ये एक रहेको बताउँदै मोहनको सक्रियता लोभ लाग्दो रहेको बताएका थिए ।

‘यो किताब फिचर फिल्म निर्देशनमा केन्द्रित भए पनि मलाई यो किताबमा मन परेको कुरा के हो भने यसले सहकार्यको कुरामा जोड दिएको छ । जस्तो कि अहिले थिएटर र सिनेमामा यस्तो अभ्यास देख्न सकिन्छ,’ उनले भने, ‘थिएटरका मान्छे फिल्ममा गइरहेका छन् र फिल्मका मान्छे थिएटर गर्न इच्छुक छन् । यो किताबमा त्यस्ता कुराहरू सम्बोधित भएका छन् । यो मलाई राम्रो लाग्यो ।’

अनुवादक मोहन राईले आफूले सात–आठ वर्ष अगाडिदेखि यो पुस्तकमा काम गरिरहेको बताए पनि विविध कारणले ढिलो भएको बताएका थिए । आफू यस्ता प्राज्ञिक काम निःशुल्क गर्न तयार रहे पनि यसमा संस्थागत संलग्नताको खाँचो रहेको बताएका थिए ।‘

म त निःशुल्क पनि यस्ता काम गर्न तयार छु । तर एक जनाले मात्र गरेर यो सम्भव हुन्छ जस्तो लाग्दैन । मैले मेरो अघिल्लो पुस्तक पनि प्रकाशनका लागि चलचित्र विकास बोर्ड धाएँ । तर ठोस उपलब्धि नभएपछि आफैँ प्रकाशन गर्न कस्सिएको हुँ,’ उनको भनाइ थियो । कार्यक्रममा लेखक मार्क ट्राभिसले पनि मोहन राईलाई अनुवादका लागि भिडियो सन्देशमार्फत् शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?