+
+

एमालेले माधव नेपाललाई राष्ट्रपति बनाउँछ जस्तो लाग्दैन : गंगालाल तुलाधर

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १७ गते १५:०७
फाइल तस्वीर

१७ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको प्रस्ताव आएको विषयमा सत्यता नभएको बताएका छन् ।

आइतबार पार्टी कार्यालयमा स्थायी कमिटी बैठकबारे जानकारी दिन पत्रकारहरुसँगको कुराकानीमा उनले नेकपा एमालेबाट यति ठूलो प्रस्ताव आउने विषय पत्याउन नसकिने बताए ।

‘यो कुराले अहिलेसम्म हाम्रो बैठकमा प्रवेश पाएको छैन । कहाँबाट, कसरी आयो हावामा आयो, हावामा नै गयो जस्तो लाग्छ’ उनले भने, ‘नेकपा एमालेका तर्फबाट फेरि माधवकुमार नेपाल, एकीकृत समाजवादीको अध्यक्षलाई यस्तो ठूलो प्रस्ताव यति छिटै, सजिलोसँग राख्लान् भन्ने मलाई लाग्दैन र गरेको हो भन्ने पनि मलाइ लाग्दैन ।’

उनले यदि यो विषयमा कतै चर्चा भएको भए एकीकृत समाजवादीको कार्यकर्तालाई भ्रममा राख्ने कोशिसमात्र भएको उपमहासचिव तुलाधरले बताए ।

नेकपा एमालेसँग पार्टी एकताको कुरा पनि हल्ला मात्रै भएको उनले टिप्पणी गरे । ‘पार्टी एकताको कुरा नेकपा एमालेका केही मान्छेले मात्रै हल्ला चलाएका हुन्, यसमा हामी भ्रममा पर्न हुँदैन’, तुलाधरले भने, ‘एकता हुन्छ भनेर हाम्रो कार्यकर्तालाई भुलभुलैयामा राख्ने कोशिस भएको छ ।’

माओवादी र जनता समाजवादीसँग पनि एकताको कुरा अगाडि नढेको उनले बताए । आफ्ना केही नेताले अनौपचारिक कुरा गरेको भए पनि औपचारिकरुपमा त्यस्तो कुनै निर्णय नभएको तुलाधरले जिकिर गरे ।

‘एकताका बारेमा कुनै पनि निर्णय भएका छैनन्, अहिले नै एकताका निम्ति लालयित भएर जाने कुरा पनि होइन,’ तुलाधरको भनाइ छ ।

बरु चुनावअघि नेकपा माओवादी केन्द्रबाट एकताको प्रस्ताव आएकाले आफूहरुले समिति बनाएको तर माओवादी नै त्यसमा धेरै अग्रसर नभएकाले यसबारे केही कुरा नभएको उनले बताए ।

पार्टीको स्थायी समिति बैठकमा वर्तमान राजनीति, वर्तमान गठबन्धनलाई कसरी हेर्ने, सरकारमा जाने, या नजाने, पार्टी एकताका बारेमा चलेका चर्चाबारे स्थायी समिति सदस्यहरुलाई धारणा राख्न दिइएको थियो ।

बैठकमा अहिलेसम्म ३० जनाले धारणा राखेको जानकारी दिँदै तुलाधरले धेरैको मत सरकारलाई सर्मथन गर्ने तर सरकारमा जान नहुने भन्ने खालको रहेको बताए ।

‘हिजो एउटै गठबन्धनमा भएकाले प्रचण्डको सरकारलाई सर्मथन दिन उचित हुन्छ कि भन्ने कुरा पनि छ,’ उनले भने, ‘ तर, धेरैको कुरा अहिले सरकारमा जान हुँदैन भन्ने खालको छ ।’

एकीकृत समाजवादीको स्थायी समितिमा ५२ जना सदस्य रहेका छन् । सबैले आफ्नो धारणा राखिसकेपछि बैठक सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?