
१७ पुस, बुटवल । माओवादी केन्द्रका नेताहरुले लुम्बिनी प्रदेशको मुख्यमन्त्री छाड्न नसकिने बताएका छन् ।
८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ प्रदेशसभा सदस्य चाहिन्छ । सत्ता गठबन्धनको अर्को दल नेकपा एमाले २९ प्रदेशसभासहित प्रदेशकै सबैभन्दा ठूलो दल हो । प्रत्यक्षमा ५ सहित जम्मा ९ सिट जितेको माओवादी तेस्रो दल हो । राप्रपा (४), नागरिक उन्मुक्ति पार्टी (४), जनता समाजवादी पार्टी (३) र जनमत पार्टी (३) को समर्थन जुटाउँदा बल्ल गठबन्धनको बहुमत पुग्छ ।
एमालेबाट आइतबार मात्र संसदीय दलका नेता चुनिएका लिला गिरी मुख्यमन्त्रीका उम्मेदवार हुन् ।
तर माओवादी नेताहरु लुम्बिनीको मुख्यमन्त्री गिरीलाई छाड्न तयार देखिएका छैनन् ।
माओवादीेले संसदीय दलको नेता चुनेको छैन, तर जोखबहादुर महरा मुख्यमन्त्रीका निर्विकल्प उम्मेदवार हुन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालको निजी सचिवालयमा लामो समय काम गरेका महरा रोल्पा १ को प्रदेश सभा १ बाट निर्वाचित भएका हुन् । अर्का दावेदार प्रदेश अध्यक्ष गुल्मीका सुदर्शन बरालले चुनाव हारेकाले महरा निर्विकल्प मुख्यमन्त्रीका उम्मेदवार हुन् ।
पार्टी अध्यक्ष प्रचण्डले मुख्यमन्त्री बनाउने प्रतिवद्धतासहित आफूलाई प्रदेशमा पठाएकाले पनि पछाडि नहट्ने महरा बताउँछन् । ‘संयोगले अहिले प्रधानमन्त्री पनि हाम्रो अध्यक्ष कमरेड नै बन्नुभएको छ, अब उहाँले मसँग गरेको प्रतिवद्धता पूरा गर्ने बेला आएको छ,’ महराले अनलाइनखबरसँग भने, ‘हामीले २ वटा प्रदेशको नेतृत्व पाउने सहमति हो । त्यसमा लुम्बिनी पनि बटमलाइन हो ।’
माओवादीका प्रदेश अध्यक्ष बराल पनि गठबन्धनमा गिभ एण्ड टेक हुने भएकाले लुम्बिनीको नेतृत्व नछाड्ने बताउँछन् । नेकपाकालमै नेतृत्व दाबी गरेपनि शंकर पोखरेलका लागि छाडेको भन्दै उनले भने, ‘यसपटक छाड्ने कुरा हुन्न ।’ लुम्बिनी प्रदेश माओवादीको जनयुद्धको उद्गमस्थल र आधार इलाका पनि भएकाले पनि प्रदेश सरकारको नेतृत्व लिन चाहेको उनले बताए ।
विगतमा सरकारको नेतृत्व छाड्दा आधार इलाकामा पार्टी झन् कमजोर भएकाले यो पटक नछाड्न १२ वटै जिल्लाका नेता कार्यकर्ताले नेतृत्वलाई दबाब दिएको माओवादी केन्द्रीय सदस्य विनोद पहाडी बताउँछन् । उनी भन्छन्, ‘संगठन र जनमतका हिसाबले लुम्बिनी प्रदेश माओवादीका लागि बलियो प्रदेश हो, यसपटक पनि मुख्यमन्त्री छाड्यो भने पार्टी झनै कमजोर हुन्छ ।’
नेकपा एमालेका प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल भने केन्द्रमा भएको गठबन्धनअनुसार नै प्रदेशमा समीकरण बन्ने बताउँछन् । भन्छन्, ‘यहाँको ठूलो दलको हिसाबले नेतृत्व हामीले पाउनुपर्छ भन्ने छ, तर केन्द्रबाट हुने सहमतिलाई पालना गर्छौं ।
प्रतिक्रिया 4