
१८ पुस, काठमाडौं । केही समयमा ‘स्पेयर’ नामक पुस्तक प्रकाशित हुनेछ, जसमा बेलायती प्रिन्स ह्यारीले राजकुमारी डायना र अहिलेका राजा चार्ल्स तृतीयको दोस्रो छोराको रूपमा आफ्नो जीवन कहानी बताउनेछन् ।
उक्त पुस्तकमा शाही परिवारका केही अन्तरंग खुलासा हुने विश्वास लिइएको छ । यो खबरले बकिंघममा एकसाथ अनेकौं चिन्ता थपिएको छ ।
त्यस्तै, ह्यारीकी पत्नी मेगन मार्कलले पनि आफ्ना संस्मरणहरूसहित एउटा पुस्तक लेखिरहेकी छिन् ।
बेलायती अनलाइन डेली मेलले स्रोतलाई उद्धृत गर्दै लेखेको खबर अनुसार उक्त पुस्तकमा पनि शाही परिवारमा प्रवेशसँगै उनले भोगेका सबै यथार्थहरू समेटिनेछन् ।
नेटफ्लिक्स श्रृंखला ‘ह्यारी र मेगन’ बाट फैलिएको स्क्यान्डलका कारण शाही परिवारलाई अप्ठ्यारोमा पार्ने तथ्यहरू खुलासा भएका थिए ।
नयाँ पुस्तक ‘स्पेयर’ले आगोमा घ्यू थपे जस्तै गरी राज परिवारको अप्ठ्यारो बढ्ने र विवाद चुलिने अनुमान गरिएको छ ।
मेगन र ह्यारीको आत्मसंस्मरण प्रकाशनको चर्चाले बेलायती राज परिवार थप प्रतिरक्षात्मक बनेको छ । सन् २०१२ मै चर्चित प्रकाशन गृह पेंगुइन र्यान्डम हाउससँग उक्त पुस्तक प्रकाशनका लागि मेगन र ह्यारीले सम्झौता गरिसकेका थिए । ‘स्पेयर’ पुस्तकका लागि ह्यारीले २० मिलियन डलर प्राप्त गर्ने बताइएको छ ।
मेगनको कमाइबारे पनि अहिलेसम्म कुनै जानकारी बाहिरिएको छैन । उनले यसअघि सोही प्रकाशनबाट बाल पुस्तक ‘द बेन्च’ प्रकाशन गरिसकेकी छिन् ।
ह्यारी र मेगन राजपरिवारको सदस्यबाट अलग भएको घोषणा गर्दै अमेरिकामा बसिरहेका छन् ।
प्रतिक्रिया 4