
१८ पुस, काठमाडौं । कुनै मिटिङ छलेर, या घरमा थुप्रिएका कार्यकर्तालाई पर्खाएर एमाले अध्यक्ष केपी ओली फुटबल रंगशालातिर हिंडे या कन्सर्टमा पुगे भने पार्टीभित्र आलोचनाका शिकार बन्दा रहेछन् ।
पछिल्लो साता नेपालमा सत्ता गठबन्धनभित्र उलटपुलट भयो । बहालवाला प्रधानमन्त्री शेरबहादुर देउवालाई हटाएर तेस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा राख्दै गर्दा यसका मुख्य सूत्रधार उनै ओली थिए ।
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले त पार्टीको भर्चुअल बैठकमा टिप्पणी नै गरे, ‘म त किनारामा बसेर हेर्ने मान्छे परें भन्दाभन्दै ओलीले बिताइदिए ।’
हुन पनि ओली यो बीचमा घरी नेपाल लिटरेचर फेस्टिभलतिर, घरी नेपथ्यको कन्सर्टतिर, घरि स्पेनको क्लब कासेरेन्यो सिपीसँग काठमाडौं ११ को मैत्री खेल हेर्न दशरथ रंगशाला, अनि घरी टेबुलटेनिस प्रतियोगितातिर पुगिरहेका देखिन्थे ।
मदन भण्डारी स्पोट्स एकेडेमीको आयोजनामा भएको टेबलटेनिस टुर्नामेन्टमा उनी आफैं खेल्न पुगेका थिए । यसै क्रममा ओली हिजो आइतबार काठमाडौंको एउटा कलेजमा विद्यार्थीसँग संवादमा बसे । उनले त्यसमा ज्ञान, विज्ञान आदि विषयबारे आफूलाई लागेका तर्कहरु राखेका थिए ।
अमृत गुरुङ नेतृत्वको नेपथ्य ब्यान्डले देशैभरिका कन्सर्टलाई टुंग्याउने गरी शनिबार राजधानीमा राखेको कन्सर्टमा ओली पत्नी राधिकालाई समेत लिएर पुगेका थिए । नेपथ्यका फोक–रक गीतहरुमा उनी झुमिरहेका भेटिन्थे ।
राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, अरु संघीय मन्त्रीहरु, प्रदेश प्रमुख र मुख्यमन्त्री लगायत चुन्न बाँकी नै छ । आवश्यक तयारीका लागि बैठकहरुमा उनकै उपस्थिति अनिवार्य हुन्छ । अत्यावश्यक पार्टी काम छाडेर ओली यसरी ‘अतिरिक्त क्रियाकलाप’ तिर गएको देखेर पार्टीका कमरेडहरु चित्त दुखाउँदा रहेछन् ।

‘उहाँको राजनीतिक कामबाहेक अरु खाले सामाजिक र सांस्कृतिक क्रियाकलापमा पनि रुचि हुन्छ, तर पार्टीमा कमरेडहरुले नबुझेर किन बेकारमा उता समय बिताएको भनी हामीसँग गुनासो गर्नुहुन्छ’ एमाले अध्यक्षको सचिवालयमा रहेका एक सदस्यले अनलाइनखबरलाई सुनाए ।
केही महिनाअघि काठमाडौंका मेयर बालेन साहसँग भेटका क्रममा उनले संगीत र कविताका कुराहरु गरेका थिए । ओलीलाई के मूड चलेछ, आफूसँग भएको राम्रोचाहिं तबलाको सेट उनैलाई दिएर पठाएछन् ।
गत भदौमा दशरथ रंगशालामा उनी नेपाल–भारत मैत्री फुटबल हेर्न पुगेका थिए । गोदावरीमा ओलीले ‘युवाहरुसँग म’ कार्यक्रममा गई स्टार्ट–अप, न्यु इनोभेसन लगायत विषयमा कुराकानी गरेका थिए ।
ओलीले केही समय अघि आफ्नो निवासमा उनले माधव घिमिरे, सत्यमोहन जोशी, वैरागी काइँलालगायतसँग छलफल गरेका थिए । तीमध्ये घिमिरे र जोशीको निधन भइसकेको छ । पोखरामा गत साता भएको लिटरेचर फेस्टिभलमा ओलीले यी व्यक्तित्वहरु नेपाली समाजका अमूल्य तीर्थहरु भएको भन्दै आफ्ना भेटघाटहरुको सम्झना सुनाएका थिए ।

चुनावभन्दा ठिक्क अघि एलओडी क्लब पुगेका ओली त्यहाँ बसेर युवाहरुसँग झुमेका थिए । कतिपयले उनलाई गैरराजनीतिक गतिविधिमा सक्रिय हुन थालेको भन्दै आलोचना गर्ने गरेका छन् । कतिपयले भने राजनीतिक व्यक्तिले समाजका विभिन्न पाटाहरुमा ध्यान दिनु उचित हुने भन्दै अरु नेताले पनि सिक्न आवश्यक हुने कमेन्ट गर्ने गरेका छन् ।
ओलीको सचिवालयका सदस्य रामशरण बजगाईंले नयाँ समयको पदचाप सुन्नका लागि अध्यक्ष ओलीले व्यक्तिगत पहलकदमी लिने गरेको टिप्पणी गरे । ‘नयाँ पुस्ताले के सोच्दैछ भन्ने थाहा पाउनु आवश्यक छ, उनीहरुमा पैदा हुन सक्ने छिटो परिवर्तनको भोक अनि अस्थिरतालाई राजनीतिक साँचोमा ढाल्न आवश्यक छ भन्ने कुरा अध्यक्षले बुझ्नुभएको छ’ उनले भने, ‘राजनीति फोहोरी खेल होइन, बरु यो सबैले जान्नुबुझ्नुपर्ने कुरा हो भनेर सन्देश दिने गर्नुहुन्छ । यसमा कसलाई के हानि छ र ?’
प्रतिक्रिया 4