१८ पुस, काठमाडौं । देशको एकमात्र आधिकारिक राष्ट्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिग चलिरहँदा केहि विदेशी खेलाडी र प्रशिक्षक स्वदेश फर्किएका छन् ।
नेपाल टी–२० लिगमा विराटनगर सुपर किंग्सबाट खेलेका शीर्षस्तरका विदेशी खेलाडी जिम्बाबेका सिकन्दर राजा व्यक्तिगत कारण देखाउँदै फर्किएका छन् । सामान्य चोट लागेकाले सुरुवाती दुई खेलपछि उनी बेन्चमै थिए । पाकिस्तानमा रहेका परिवार भेटेपछि उनी बंगलादेश प्रिमियर लिगका लागि ढाका जाने बताइएको छ ।
जनकपुर रोयल्सबाट खेलेका वेष्ट इण्डियन केसरिम विलियम्स पनि पिताको निधन भएपछि स्वदेश फर्किएका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टिममा प्रशिक्षण गरिसकेका जनकपुरका प्रमुख प्रशिक्षक उमेश पटवाल श्रीमती विरामी भएर भारत फर्किएका छन् । उनी प्रतियोगिताका लागि फर्किने गरी स्वदेश गएको बताइएको छ ।
खेलाडीले प्रतियोगिता पूर्व पाउनुपर्ने केहि प्रतिशत पारिश्रमिक नपाएका कारण प्रतियोगिता एक दिन पछि सार्नुपरेको थियो । अहिलेसम्म पनि अधिकांश खेलाडीले पारिश्रमिक पाएका छैनन् । त्यसबाहेक सम्भावित म्याच फिक्सिङका कारण पनि विदेशी खेलाडीमा यस प्रतियोगिताप्रति आकर्षण नरहेको नेपाल क्रिकेट संघ क्यानकै एक असन्तुष्ट पदाधिकारीले बताए ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीबाट एन्टी करप्सन प्रमुख बनेर नेपाल आएका वीर सिंह आईसीसीको सो कमिटीबाट सेवा निवृत्त भइरहेको पाइएको छ । तर, क्यान अध्यक्ष चतुरबहादुर चन्दले भने क्यान र आईसीसीबीचको समन्वयमा लिखित रुपमा नै उनलाई नियुक्त गरिएको बताउँछन् ।
अध्यक्ष चन्दले खेल मिलेमतो वा अन्य खराव गतिविधि भएमा क्यान वा एन्टी करप्सन युनिटमा खबर गर्न खेलाडीलाई आग्रह गरेका छन् । ‘त्यस्तो केहि गतिविधिको शंका लागेमा खेलाडीले पनि उजुरी गर्न सक्छन् । त्यसो नगरे उनीहरु पनि कारबाहीको भागीदार हुन्छन्,’ अध्यक्ष चन्दले अनलाइनखबरसँग भने ।
प्रतिक्रिया 4