
१८ पुस, वीरगञ्ज । पर्सा प्रहरीले वीरगञ्जको बसपार्क तथा ४० फिटे सडक क्षेत्रबाट २९ जनालाई पक्राउ गरेको छ । ती क्षेत्रमा सञ्चालित होटलहरुबाट २४ जना महिला र ५ जना पुरुषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बसपार्क तथा ४० फिटे सडक क्षेत्रमा सञ्चालित होटलहरुमा अवैध रुपमा यौनजन्य क्रियाकलाप हुने गरेको गुनासोको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय अन्तर्गत रहेको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।
दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्ममा बसपार्क, ४० फिटे सडक क्षेत्रबाट अनुसन्धानका लागि २९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
‘ बसपार्क र त्यसको वरपर यौनजन्य गतिविधि हुन्छन् भन्ने गुनासो आएको थियो, त्यसैको आधारमा अनुसन्धानका लागि २४ जना महिला र ५ जना पुरुषलाई पक्राउ गरेर ल्याएका छौं ।’ उनले भने ‘ सोधपुछ गर्ने कार्य भइरहेको छ । उनीहरुको संलग्नताको आधारमा कानुनी कारबाही प्रक्रिया अघि बढाउने वा छोड्ने भनेर निर्णय गर्छौ ।’
वीरगञ्जको बसपार्क नजिकै ‘प्रेम गल्ली’ नामले नै एउटा गल्ली परिचित छ । जहाँ सुन्दर युवतीलाई प्रयोग गरेर मादक पदार्थ सेवन गर्न आउनेहरुसँग बढी पैसा असुल्ने गरिन्छ ।
भने ४० फिटको सडकमा रकम लिएर यौन गतिविधि चलाउने गरिएको जनगुनासो छ । त्यो क्षेत्रमा तेस्रोलिंगीहरु पनि अबेर रातिसम्म ग्राहक कुरेर बस्ने गरेको स्थानीय बताउँछन् ।
होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले अवैध गतिविधि नियन्त्रण गर्न प्रहरीले चालेको कदमको स्वागत गरेका छन् । गलत तरिकाले होटल व्यवसाय सञ्चालन गर्नेहरुका कारण स्वच्छ हिसाबले व्यवसाय गर्नेहरु पनि वदनाम हुने गरेको बताउँदै उनले अवैध गतिविधि नियन्त्रण गर्न प्रहरीलाई होटल तथा पर्यटन व्यवसायीले साथ दिने बताए ।
‘गलत गर्नेलाई कारबाही हुनुपर्छ र स्वच्छ व्यवसाय गर्नेलाई धरपकड गरेर दुःख दिनु हुन्न भन्ने हाम्रो मान्यता हो ।’ उनले भने ‘ गलत कुरालाई निरुत्साहित गर्ने कुरामा हामी पनि हातेमालो गर्छौ ।’
यसअघि प्रहरीले वीरगञ्जको लिंकरोडबाट दुई जना होटल व्यवसायीलाई उठाएर लगेपछि उनले नयाँ प्रहरी प्रमुख आउने वित्तिकै होटल व्यवसायीलाई दु: ख दिएको भन्दै असन्तुष्टी जनाएका थिए ।
प्रतिक्रिया 4