
१८ पुस, काठमाडौं । माओवादी केन्द्रका नेता जनार्दन शर्मा आठौं महाधिवेशनअघि करिब ६ महिना संगठन विभागको प्रमुख रहे । शेरबहादुर देउवा सरकारमा अर्थमन्त्री रहेका शर्माले विभागको बैठक राखेको नेताहरुलाई याद छैन ।
तर अर्थमन्त्रीबाट हटेको दोस्रो सातामै उपमहासचिव शर्माले आइतबार संगठन विभागको बैठक बोलाए । प्रदेश १ का इन्चार्ज राम कार्की, मधेश प्रदेशका इन्चार्ज गणेश साह, कर्णाली प्रदेशका इन्चार्ज कालीबहादुर मल्ल, सम्पर्क समन्वय प्रदेश समिति इन्चार्ज डिलाराम आचार्य र उपत्यका विशेष प्रदेश समितिका इन्चार्ज लीलामणि पोखरेल सहभागी त्यो बैठकमा ‘संसदीय प्रतिस्पर्धा र समाजवादको आधार निर्माणको लक्ष्यका बीच पार्टी निर्माणको चुनौती’ विषयमा छलफल भएको थियो ।
२१ पुसमा अर्को बैठक बोलाइएको छ, जसले जनता माझ जाने विस्तृत कार्ययोजना बनाउने बताइएको छ ।
उपमहासचिव शर्माले संगठन विभागको बैठक बोलाउनुलाई नेताहरुले अर्थपूर्ण रुपमा हेरेका छन् । किनकी एक वर्षअघि पुसमा आठौं महाधिवेशन गरेको माओवादीले भदौमा आएर बल्ल पदाधिकारी टुंग्याए पनि विभागहरु बनाएकै छैन ।
सामान्यतः संगठन विभागको प्रमुखको स्वाभाविक दावेदार महासचिव देव गुरुङ नै हुन् । यदि फरक व्यवस्था गर्ने हो भने पार्टीले निर्णय गर्नुपर्छ । त्यस्तो कुनै निर्णय नभएको अवस्थामा उपमहासचिव शर्माले संगठन विभागको नाममा बैठक राख्नुलाई पार्टी संगठनमा आफ्नो पकड बलियो बनाउने होडका रुपमा हेरिएको छ ।
पार्टीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएका छन् । पार्टीको नेतृत्वमा पुग्ने होडमा रहेका नेताहरु शर्मा र अर्का उपमहासचिव वर्षमान पुन दुवै सरकारमा छैनन् ।
शर्मा र पुन दुवै महासचिवका दाबेदार थिए । तर दुईमध्ये एक जनालाई छान्न नसक्ने भएपछि प्रचण्डले देव गुरुङलाई महासचिव बनाए । उपमहासचिव भएका शर्मा र पुनबीच पार्टी संगठनमा पकड जमाउने होड भने रोकिएको छैन ।
कतिसम्म भने संसदीय दलको उपनेतामा पनि शर्मा र पुन दुवैको दाबी छ । एक जनालाई मन्त्री र एक जनालाई उपनेता बनाउने प्रचण्डको तयारी थियो । तर दुवैले मन्त्री नबन्ने र पार्टी निर्माणमा लाग्ने उद्घोष गरेका छन् ।
उपमहासचिव पुनले पार्टी निर्माणको सम्भावित योजनाबारे छलफल सुरु गरिसकेको बताउने गरेका छन् । नयाँ सरकार गठनसँगै जनता र पार्टीमा उत्साह प्रवाह भएकाले यसलाई पार्टी निर्माणसँग जोड्ने योजना सुनाउँदै उपमहासचिव पुन भन्छन्, ‘अब दोस्रो पुस्ताले पार्टी निर्माणमा जोड दिनुपर्छ ।’
पार्टी निर्माणमा लाग्ने उपमहासचिवद्वय शर्मा र पुनको तयारीलाई बाध्यता र आवश्यकता ठान्छन् माओवादी केन्द्रकै नेताहरू । मधेश प्रदेशका इन्चार्ज गणेश साह आफ्नै राजनीतिक भविष्यका लागि पनि पार्टी निर्माणमा लाग्नु नेताहरुको बाध्यता बनेको बताउँछन् ।
‘उहाँहरूले अब पनि पार्टी निर्माणमा ध्यान दिनुभएन भने हामी सबै सँगै सकिनुपर्ने हुन्छ’ ७२ वर्षीय नेता साहले अनलाइनखबरसँग भने, ‘यो कुरा बुझ्ने र काम गर्ने अवसर यसपटक उहाँहरूलाई छ ।’
प्रतिक्रिया 4