
रवि लामिछानेका बारे टिप्पणी गर्नुअघि पत्रकारले दुईपल्ट सोच्नुपर्ने भएको छ । पहिलोपल्ट सोच्न बाध्य गराउँछन्, स्वयं पत्रकारहरुले । उनीहरु भन्छन्, ‘सय दिन त हेर्न दिउँ । टिप्पणीलाई हतार के छ र ?’ दोस्रोपल्ट सोच्न बाध्य गराउँछन्, पत्रकारिताभन्दा बाहिरका महानुभावहरुले । उनीहरु भन्छन्, ‘एउटा पत्रकारले राजनीतिमा आएर गरिखाएको तिमीलाई किन हजम नभएको ?’
तर पुस दोस्रो साताका दुई–चार ट्रेलर हेरिसकेपछि केही त बोल्नैपर्ने भयो । किनभने अस्तिसम्म हामीलाई राजनीतिक अस्थिरता होला कि भन्ने डर थियो । यही ताल जारी रहने हो भने हामीलाई राजनीतिक स्थिरता होला कि भन्ने डर पैदा हुनेछ ।
आज सोमबार उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले गृहमन्त्रालयमा इमर्जेन्सी एक्जिट डोर बनाउन निर्देशन दिएका छन् । त्यो साधारण प्राविधिक विषय पनि देशको मुख्य समाचार भइसकेको छ । चिन्ता एक्जिट डोर बन्ला भन्ने होइन, अधिक प्रचारमोहको प्रवृत्ति पल्केला भन्ने हो ।
पत्नी निकिताको जन्मदिन मनाउने क्रममा उनले बर्थडे केक काटेनन्, जुजु धौ काटे । बत्ती निभाएनन्, बरु बाले । त्यो ‘व्यक्तिगत कुरा’ पनि समाचार भइसकेको छ । सारा मिडियाले छाप्दा, बजाउँदा हामी पछि पर्ने कुरै भएन । एउटा पत्रकारले नेता भएर गरिखाएको हामीलाई हजम नहुने आखिर कुरै थिएन ।
‘रवि दाइ’ ले सलामी नलिन पनि सक्थे । तर सलामी लिए । त्यसमा ‘सारभूत अन्तर’ छ– उनी पिर्कामाथि चढेनन् । धन्न, उनी बद्नाम हुनबाट बचे । उनका लागि समस्या पिर्कामा थियो, सलामीमा थिएन । सोसल मिडियाले रविको आरती उतार्दा हामी मिडियाले समाचार दिन छाड्ने कुरै थिएन ।
अब समाचारसँगै केही यस्सो टिप्पणी गर्नुपर्ने भएको छ । नत्र गृहमन्त्री बनेसँगै उनले बोलेको ‘हामी क्याबिनेटभित्र प्रतिपक्षी बन्ने’ टाइपका घोषणा पचाउन छुट्टै किसिमको क्षमता आवश्यक पर्न सक्छ ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा एमालेले बनाएको गठबन्धन सरकारमा लामिछानेको स्वघोषित ‘मध्य–दक्षिणपन्थी दल’ राष्ट्रिय स्वतन्त्र पार्टी सत्तासीन भएको छ । (यो पंक्तिकारसँग चुनावअघि अन्तर्वार्ता क्रममा लामिछानेले आफ्नो दल मिडल राइट फोर्स बन्ने बताएका थिए)।
गृहमन्त्री बन्न पाइने छनक पाएपछि झापाबाट तत्काल काठमाडौं उडेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन यहाँ ओर्लिदासम्म गृहमन्त्री अर्कैले पाइसकेको थियो । त्यसमा उपप्रधानमन्त्रीको फुली पनि थपिइसकेको थियो । पछिल्लो चुनावबारे राप्रपाको एउटै दुखेसो छ – अरु सबै ठीकै हो, संघीय चुनावमा रविले हाम्रो भोट काटे । प्रदेशमा उनले उम्मेदवार नउठाउँदा आखिर घन्टीमा जाने त्यो भोट हामीलाई आयो नि । उसो त रविलाई पनि लाग्दो हो, राप्रपाले भोट काट्यो ।
तर यसमा राप्रपालाई गुनासो गर्ने अधिकार पनि छैन । इतिहासको २०५ सिटको संसदताका २० सिटे राप्रपाले पालैपालो एमाले तथा कांग्रेसको समर्थनमा प्रधानमन्त्री नै फुत्काएको थियो । हालका २० सिटे रविले त उपप्रधानमन्त्री तथा गृह मन्त्रालयमात्रै पाउँदैछन् । रविले आफ्नो कार्यकालमा धेरैथोक गर्ने संकेत देखाइसके । अब उनले दुई–तीनवटा कुरा गरिदिए हामी पत्रकारहरुको समेत नाक जोगिन्थ्यो । (हुन त उनले कहिल्यै पनि आफूलाई पत्रकार भनेनन्, सञ्चारकर्मी मात्रै भने । त्यसैले उनका गतिविधिप्रति पत्रकारले जवाफदेही हुनुपर्ने देखिँदैन ।)
यी तपशीलका प्रसंग छाडेर म मूल विषयमै फर्किन्छु : रवि लामिछानेलाई सय दिन पर्खन किन सकिंदैन ?
परिवर्तनका लागि लडेका, तर मौका पाउँदा परिवर्तनका लागि सानातिनाबाहेक खासै योगदान नगरेको बासी पुस्तालाई पटक पटक अनुमोदन गरेर थाकेको अधैर्य समाज हो हाम्रो । कतिसम्म भने रविसमेतले नो नट् अगेन भनेका प्रचण्डले समेत ०६४ मा भनेका थिए : अरुलाई हेर्यौं पटकपटक, माओवादीलाई हेरौं यसपटक । तर प्रचण्डको महान सूत्रवाक्य पनि खेरै गयो । यो बेग्लै कुरा हो, तिनै प्रचण्डलाई नो नट अगेन होइन, ‘वान्स अगेन’ भन्दै रवि क्याबिनेटको चौथो वरियतामा छन् ।
नारायणकाजी श्रेष्ठ त तेस्रो बरियतामा हुन पाएर पनि बेखुसी देखिन्छन् । खुसी सापेक्षित कुरा हो । राहदानीको लाइनमा रातभर बसेको व्यक्ति समानान्तर लाइन खुलाउँदा अकस्मात् छिटो पालो पाएकैमा खुसी भइदिन्छ । छैटौंपल्ट प्रधानमन्त्री नपाउँदा शेरबहादुर देउवा वर्ष–बेखुस व्यक्ति बन्न पुगेका छन् ।
अधैर्य समाजसँग दुई वटामात्रै विकल्प हुन्छन् ः कि त आन्दोलनबाट सत्ता पल्टाउने, कि त पाँच वर्ष पर्खेर चुुनावको मत बाकसमार्फत् आवधिक बदला लिने । बाँकी फेसबुक र ट्वीटरहरु भनेका त फ्रस्ट्रेसन फाल्ने बिना–सिट्ठीका प्रेसर कुकरमात्रै हुन् ।
हिजो विपक्षी कार्यकर्ताले सडकमा ओर्लेर पुत्ला जलाउँदा त टसमस नभएका नेतालाई ह्यासट्याग क्याम्पेनले अमरत्वको महायात्राबाट कहाँ विचलित बनाउँथ्यो ! पाएसम्म शेरबहादुर देउवादेखि केपी ओलीसम्म, माधव नेपालदेखि बाबुराम भट्टराईसम्म ०८४ को चुनावमा खडा हुनेछन् । किनकि ‘जनताको चाहना’ नै यस्तै भइदिएपछि तिनले टिकट दिने आफैंलाई हो ।
बाबुराम भट्टराईले पुस्तान्तरणका लागि योगदान गर्ने भन्दै गत मंसिरको चुनाव नलड्ने घोषणा गरे पनि जनभावनाको कदर गर्दै फेरि मैदानमा फर्किएँ भन्न बेर छैन । विगतका नेताहरुका बोली र कर्म हेर्दा साँच्चै भन्ने हो भने रवि लामिछानेलाई मात्रै घोचपेच गर्नुको अर्थ पनि खासै छैन । उनले टुँडिखेलमा उभिएर घुमाएर किक हानेर नाकको डाँडी भाँच्ने भनेका मात्रै हुन्, भाँचिसकेका छैनन् । डाँडी भाँचेर आएका, ढाडमा टेकेर टाउकोमा हानेकाहरुलाई त उनैले प्रधानमन्त्री मानिसके ।
मार्क्सवादीहरुका रुप र सारका महाबहसहरु अब पुस २७ लाई राष्ट्रिय एकता दिवस मान्ने कि नमान्ने, दौरा सुरुवाललाई राष्ट्रिय पोशाकको मान्यता दिने कि नदिने जस्ता रुपवादी ‘पर्फमेन्स एक्ट’ हरुमा खुम्चिसके । यसको ऐतिहासिक नेतृत्व स्वयं प्रचण्डले गर्दैछन् । रवीन्द्र मिश्रले पछिल्लो बैठकमा उठाएका ‘विचारभन्दा माथि’ प्रश्नहरुलाई अध्यक्ष लिङ्देनले प्रचण्डका यिनै ‘कन्फर्मिस्ट’ क्रिया र कर्म देखाएर चित्त बुझाउन खोज्दैछन् ।
त्यसैले हिजोका वर्गदुश्मनहरुले बीपी कोइरालालाई बिर्साउने गरी ‘राष्ट्रिय मेलमिलाप’ गरिसकेको अवस्थामा रवि लामिछानेले पत्नीको जन्मदिनमा केक होइन, जुजु धौ काटे, अनि पिर्कामा होइन भुइँमा सलामी लिए भनेर एक्लै उडाउनुको कुनै खास वजन छैन । यति हो, रविले डे–टु–डे ‘पोलिटिक्स’ बुझिसके, अब राजनीति पनि बुझे हुन्थ्यो । राजनीतिले आफ्नो पक्ष स्पष्ट गर्छ । अर्को पक्षसँग सम्झौता गर्छ, तर सहबरण गर्दैन ।
रविको राजनीति के हो ? उनले खोजेको परिवर्तन देखावटी हो कि सारमा त्यसको कुनै खास स्वरुप छ ? त्यो स्वरुप, जसको अपेक्षामा यसपल्ट उनीमाथि जनमत बर्सिएको छ । कि फेरि पाँच वर्षपछि कुनै अर्को नायकको खोजीमा लाग्ने हो हामी ?
रवि लामिछानेका बारेमा आम आशाहरुप्रति विनम्र सम्मान गर्दै एउटा यथार्थ भने भन्नै पर्छ– उनले ‘स्टन्ट’ गर्थे, गर्छन् र गर्नेछन् । नेपाली समाजले सबै ऐतिहासिक स्टन्टहरुलाई कुनै न कुनै रुपमा अनुमोदन गर्दै आएको छ । सायद यो तर्कको रविभन्दा ठूला पक्षपोषक सीके राउत हुन सक्छन् । सीके राउतले आफैंलाई ‘ब्ल्याक बुद्ध’ भने । घर छाडेर अमेरिका गए । फर्की आएर नेपाललाई उपनिवेश भने । देश टुक्र्याउँछु भने । अब उनी यो देशलाई कुनै पनि हालतमा जोगाउन चाहन्छन् । देश रहे न उनको निर्वाचन क्षेत्र रहन्छ । देशै नरहे के को मन्त्री, के को सांसद ! उनी थोडै बुद्ध हुन् र भएको राजपाठ त्याग्नलाई ?
यो तर्कलाई सायद बाबुराम भट्टराईले पनि अनुमोदन गर्लान् । गोरखा २ मा प्रचण्डका लागि ऐतिहासिक त्याग गरेर उनले पुस्तान्तरणका लागि बाटो खुला गरे । र त्यसको सुरुवात उनी आफ्नै घरबाट गर्न चाहन्थे । योभन्दा बढी विश्लेषण यहाँ आवश्यक छैन । अब उनी शक्तिशाली प्राधिकरण चलाएर यो देशका लागि अर्को योगदान गर्न चाहन्छन् । यी पंक्ति लेख्दैगर्दा उनी बालकोट पुगेर एमाले अध्यक्ष केपी ओलीलाई भेटिसके । बाबुरामलाई थाहा छ, सत्ताको नाभी कहाँ छ ! तर ओली के नै गर्न सक्छन् र, ‘किनारामा बसेर रमिता हेर्नेबाहेक ।’
भनिरहनु नपर्ला, रविका धेरथोर स्टन्ट पचाउने क्षमता नेपाली समाजसँग छ । योभन्दा धेरै दर्दनाक दृश्य पचाएर आइसकेको समाजलाई रवि लामिछानेका दुई चार क्रियाकलापले सकारात्मक परिवर्तन ल्याउँछन् भने त्यो गर्न किन नदिने भन्ने परेको छ । त्यसैले यहाँ मान्छेहरुलाई रविको नागरिकता प्रकरण र उनको गृहमन्त्रालय प्रवेशले उब्जाएको स्वार्थको द्वन्द्वसम्बन्धी प्रश्नबारे उत्रो मतलब देखिँदैन । कम्तीमा उनले मोहम्मद आफताब आलमले झैं जिउँदै मान्छे पोलेर इँटाभट्टामा हालेका त छैनन् । नियतीवादी समाजको चित्त बुझाउने काइदा यो र यस्तै हुने गर्छ ।
तर यो अधीरता यथार्थमा हानिकारक हुन्छ । यसको बोक्रा जहिले पनि चम्किलो, गुलियो, तर असली स्वाद घातक विषालु हुन्छ । लोकरिझ्याइँले हामीलाई तत्कालको न्यानोमा रमाउने नेतृत्व हातलागी गराउँछ । एकछिनलाई तातो हुन्छ भनेर हामी कतिञ्जेल लोकरञ्जनमा रमाउने ? हामी कहिले ‘बाबुरामलाई काम गर्न देऊ’ टिसर्टमा देखिने । हामी कहिले ‘आदेश देऊ प्रचण्ड, गोली ठोक्न तयार छौं’ भन्ने । हामी कहिले ‘केपी बा आई लभ यू’ को राष्ट्रवादी रुझानमा जोसिने । अधैर्य समाज सधैं मुक्तिदाता नायकको खोजीमा भौतारिने । अनि आफूलाई नारामा सोच्न नसक्ने नेताहरु चाहिँ कुण्ठामा बसिरहने ।
‘पर्सनल इज् पोलिटिकल’ भन्ने नामी कथन छ । त्यसैले रविले केक जसरी काटे पनि उनको व्यक्तिगत कुरा हो भन्दै पन्छन छाडौं । उनले पिर्का पन्छाएर सलामी लिएको न्यानोमा नफुर्किऔं । सय दिनसम्म उनी ‘भौमान’ रहुन्, त्यसपछि मान्छे बन्दिए पुग्यो भन्ने नियतिवादमा नभुलौं । रविलाई विधिको शासनको सम्मान गर्न आग्रह गरौं । उनलाई क्याबिनेटभित्र प्रतिपक्षी बन्न पाइँदैन, त्यसो गर्ने हो भने केपी ओलीको प्रधानमन्त्रीकालमा संसद विघटन सिफारिस हुँदा घनश्याम भुसाल, योगेश भट्टराई, वर्षमान पुन अनन्त लगायतले फरक मत राख्दै राजीनामा गरेजस्तै मन्त्री पद छाड्नुपर्ने हुन्छ भन्ने सिस्टम बुझाऔं । यही विधिभित्र बसेर संरचनागत सुधार गर्न प्रोत्साहित गरौं । बाबुरामलाई काम गर्न दियौं, अब रवि दाइलाई काम गर्न दिऔं । रवि दाइका स्टन्टहरुलाई अनुमोदन नगरौं ।
ट्वीटर : @basantabasnet
प्रतिक्रिया 4