
१९ पुस, काठमाडौं । नेपाल उद्योग परिसंघले उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग भेट्दै विकास खर्च बढाउन माग गरेको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले श्रेष्ठलाई भेट्दै यस्तो माग गरेको हो ।
अध्यक्ष अग्रवालले पूर्वाधार क्षेत्रमा लगानीको आवश्यकतामा जोड दिए । उनले पूर्वाधारमा कम लगानी भएको, विकास खर्च कम हुँदा समग्र पूर्वाधार उद्योगमा सुस्तता आएको बताए । पूर्वाधार क्षेत्रमा सुस्तता आउँदा निर्माण व्यवसायीसहित निर्माणसँग सम्बन्धित सबै क्षेत्रमा मन्दी आएको उनको भनाइ छ ।
अध्यक्ष अग्रवालले निर्माण व्यवसायीलाई भुक्तान गर्नुपर्ने रकम छिटो भुक्तानी दिन अर्थ मन्त्रालयसँग समन्वय गर्न, विकास खर्च बढाउन, एवम् बजेट छुट्याएर विकास परियोजना छिटो सम्पन्न गर्नेतर्फ ध्यान दिइनुपर्ने सुझाव दिए ।
उनले संकटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने कदमसहितको अवधारणा उपप्रधानमन्त्री श्रेष्ठलाई बुझाए ।
परिसंघले अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र (तरलता संकट तथा उच्च ब्याजदर), औद्योगिक प्रबद्र्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपाय समेत सुझाएको छ ।
परिसंघको सुझाव सुनेपछि उपप्रधानमन्त्री श्रेष्ठले अर्थतन्त्र सुधारका लागि परिसंघको सुझाव महत्वपूर्ण रहेको बताएका थिए । उनले समस्या समाधान गर्दै अगाडि बढ्ने आश्वासन दिएको परिसंघले जनाएको छ ।
प्रतिक्रिया 4