+

लाखको खेल खेल्न करोड खर्चेर अमेरिकी क्लब नेपालमा

२०७९ पुष  १९ गते १७:१३ २०७९ पुष १९ गते १७:१३

‘गेम भनेको सबैले जित्नकै लागि सहभागी हुने हो । तर, हामीले नै जित्छौं, जित्नैपर्छ भन्ने होइन । यहाँ आउने सबै टिम उत्तिकै राम्रो हुनुहुन्छ,’ हुमागाईँ भन्छन्, ‘हामी वास्तवमा नेपालीसँग सम्बन्ध सुधार र विस्तारका लागि यहाँ आएका हौं ।’

लाखको खेल खेल्न करोड खर्चेर अमेरिकी क्लब नेपालमा

१९ पुस, पोखरा । मोफसलकै सबैभन्दा सफल र चर्चित फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्डकप फुटबलको विजेता टिमले पाउने नगद पुरस्कार हो– १२ लाख रुपैयाँ ।

उपविजेता टिमले पाउँछ– ६ लाख ।

फाइनल पुग्न नसक्ने टोली खाली हात घर फर्कनु पर्छ ।

विजेता नै बनेपछि १२ लाख रुपैयाँ पुरस्कार पाउने प्रतियोगिता खेल्नकै लागि एउटा टिम करोड खर्च गरेर पोखरा आएको छ ।

उसले एक होइन, दुई पनि होइन, चार करोड रुपैयाँ खर्च गरेको छ ।

त्यो क्लब हो– अमेरिकाको भुटनिज युथ स्पोर्टस क्लब बीवाईएससी ।

यो क्लब अमेरिकामा पुगेका भुटानीहरुको हो तर क्लबमा भुटानी मात्र छैनन्, अमेरिकामा रहेका नेपाली र अरु पनि छन् । यो क्लब दोस्रो पटक आहा रारा गोल्ड कप खेल्न पोखरा आएको हो । बीवाईएससी गत संस्करणमा विभागीय टोली एपीएफसँग क्वार्टरफाइनलमा ३–१ ले पराजित हुँदै प्रतियोगिताबाटै बाहिरिएको थियो ।

तर यसपालि भने बीवाईएससी आहा रारा गोल्ड कपमा गज्बबको सुरुवात गरेको छ । सबैभन्दा सफल टिम मनाङ मर्स्याङदीलाई हराएर उ सेमिफाइनलमा पुगेको छ । मनाङ ६ पटकको विजेता र ६ पटकको उपविजेता हो ।

पोखरा पुग्नुअघि बीवाईएससीले पुसको दोस्रो साता झापाको भुटानी शिविरमा भएका २ वटा प्रतियोगिता खेलिसकेको छ । झापामाा भएको जय हुमागाईं गोल्डकपमा बीवाईएससी विजेता बनेको थियो ।

२५ जना खेलाडीसहित म्यानेजिङ टिमका ५० जना बढीसहितको टोली नेपाल आएको क्लबका संस्थापक शिव हुमागाईंले जानकारी दिए । नेपालका प्रतियोगितामा भाग लिन आफूहरुले ४ करोड रुपैयाँभन्दा बढी खर्च गरिसकेको हुमागाईँ सुनाउँछन् ।

करोडौं रुपैयाँ खर्चेर लाखको प्रतियोगिता खेल्न नेपालमा किन त ?

‘गेम भनेको सबैले जित्नकै लागि सहभागी हुने हो । तर, हामीले नै जित्छौं, जित्नैपर्छ भन्ने होइन । यहाँ आउने सबै टिम उत्तिकै राम्रो हुनुहुन्छ,’ हुमागाईँको तर्क छ, ‘हामी वास्तवमा नेपालीसँग सम्बन्ध सुधार र विस्तारका लागि यहाँ आएका हौं ।’

क्लबका संस्थापकमध्ये एक रहेका हुमागाईं भुटानी शरणार्थी हुन् । उनी झापामा १७ वर्ष शरणार्थी जीवन बिताएपछि २००९ मा अमेरिका पुगेका थिए । अमेरिकामा उनको डेरा नजिकै एउटा स्कुलको मैदान थियो । त्यही मैदानमा खेल्नेहरुलाई बटुलेर नै २०१० मा क्लब खोलेको उनी सुनाउँछन् ।

‘सुरुमा मेरो बुवाले त्यहाँ खेल्ने साना भाइबैनीहरुलाई जम्मा गरेर विभिन्न इन्टर स्टेट खेल खेलाउन लैजानु भयो । सन् २०१० मा क्लब खोलिसकेपछि हामीले व्यावसायिक फुटबल खेल्न थाल्यौं । उसो त म सकरको खेलाडी होइन,’ उनले भने, ‘तर, बाबाकै कारण म यसमा जोडिएको हुँ ।’

अमेरिकामा पुनर्स्थापना भएका हुमागाईंको त्यहाँ आफ्नै व्यापार छ । उनले नेपाली उत्पादन बिक्री वितरण गर्न त्यहाँ ग्रोसरी खोलेका छन् । ग्रोसरीको कमाइ नै क्लबको मुख्य आयस्रोत भएको उनको दाबी छ ।े अमेरिकाकै विभिन्न व्यक्ति तथा कम्पनीले प्रायोजन गरेको पनि उनले जानकारी दिए ।

‘सुरुमा हामी खेल्न जाँदा प्लेनमा पनि जान सक्दैनथियौं । बसमै जानुपथ्र्यो । तर, पछि मैले सेल्फ बिजनेस गर्न थालेपछि केही आम्दानी भयो र क्लबमा पनि राम्रो हुँदै गयो,’ उनी भन्छन्, ‘अहिले क्लबको ९० प्रतिशत खर्च मेरै व्यापारले धानिराखेको छुु ।’

क्लब केही समय आर्थिक संकटमा भए पनि २०१४ देखि भने सहज हुँदै गएको हुमागाईंको दाबी छ । ‘अहिले हामी नेपाली मूलका अ‍ेमरिकीबीच एक नम्बरमै छौं । विभिन्न प्रतियोगिताहरु पनि जित्दै आएका छौं । हामीलाई आर्थिक रुपमा पनि धेरै सहज भएको छ,’ उनले भने । उनले अमेरिकामा वर्षमा कम्तिमा ४ वटा विभिन्न प्रतियोगिता खेल्दै आएको सुनाए ।

यसपालिको टिममा अधिकांश गत वर्षको आहारारा गोल्डकप संस्करणमा खेल्न आएका खेलाडी नै छन् । २५ जना खेलाडीको टोलीमा बाँकी भने नयाँ अनुहार छन् । ‘हामीले नेपाल आउने खेलाडीका लागि यो सिजनमा मात्रै १४ हजार डलर दिएका छौं,’ उनले भने ।

अहिले नेपाली प्रतियोगिता खेल्न अमेरिकाबाट खेलाडी ल्याए पनि आगामी दिनमा अमेरिकाका प्रतियोगिता खेल्न नेपालका खेलाडी लैजाने क्लबको योजना रहेको संस्थापक हुमागाईंले सुनाए ।

‘अहिले हामी नेपालका खेलाडी अब्जर्ब गर्न आएका हौं । राम्रो खेल्ने खेलाडीलाई अमेरिकामै लैजाने हाम्रो सोच छ,’ उनले भने ।

२००९ मा आफूहरु अमेरिका पुग्दा धेरै संख्यामा भुटानीहरु त्यहाँ पुग्ने लहर चलेको र त्यसैले पनि क्लबको नामै भुटनिज युथ स्पोर्टस् क्लब राखेको हुमागाईंको स्पष्टीकरण छ ।

तस्वीरहरू : सुदर्शन रञ्जित/अनलाइनखबर

आहा रारा गोल्डकप बीवाईएससी भुटानी शरणार्थी
लेखक
विकास रोकामगर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय