
१९ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिट्व्यूरो बैठक बसिरहेका बेला सोमबार अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फोन गरेको खुलेको छ ।
उनले सरकारलाई समर्थन गर्ने विषयमा नकारात्मक निर्णय नगर्न अध्यक्ष नेपाललाई आग्रह गरेको एकीकृत समाजवादीका नेताहरुले बताएका छन् ।
सोमबार पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले बर्तमान सरकारमा आफूहरु सहभागी नहुने बताएका थिए । नेपालको उक्त भनाइपछि प्रचण्डले उनलाई फोन गरेर नकारात्मक निर्णय बैठकबाट नलिन आग्रह गरेका एकीकृत समाजवादीका एक नेताले बताए ।
मंगलबार सकिएको पोलिट्ब्यूरो बैठकले सरकारको बारेमा कुनै ठोस निर्णय लिएन, बरु निर्णय गर्ने जिम्मेवारी पार्टीको सचिवालयलाई दियो । एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले आफूहरुको निर्णय कसैबाट प्रभावित नभएको जिकिर गरे । ‘कसैको आग्रहको आधारमा हामीले निर्णय लिएको होइन’ उनले भने ।
एकीकृत समाजवादीमा प्रचण्ड सरकारलाई सर्मथन गर्ने या नगर्नेबारे बहस चलेको थियो । केहीले सर्मथन गरे पनि सरकारमा सहभागी हुन नहुने धारणा राखेका थिए । केहीले भने यो सरकारलाई समर्थन गर्न नहुने भनाइ राखेका थिए ।
प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिँदैछन् । ४ पुसमा हात्तिवनमा अध्यक्ष नेपालसँगको भेटका बेला प्रचण्डले आफ्नो सरकारलाई सर्मथन गर्न आग्रह गरेका थिए ।
प्रतिक्रिया 4