
१९ पुस, काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका बोझनीमा विद्युत सबस्टेशन निर्माण रोक्न स्थानीय वासिन्दा तेस्रो दिन पनि आन्दोलनमा उत्रिएका छन् ।
मंगलबार स्थानीयको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा राम तामाङ र लक्ष्मी तामाङ सामान्य घाइते भएका छन् । विरोध प्रदर्शनकै क्रममा आइतबार दुई जना र सोमबार एक जना पक्राउ परेका थिए ।
जायज माग राखेर गरेको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको भन्दै स्थानीयले सोमबार राष्ट्रिय मानव अधिकार आयोगमा पनि उजुरी दिएका छन् ।
गाउँको बीचमा पर्ने शंखरापुर नगरपालिका–३ बोझनीमा विद्युत सबस्टेशन राख्न लागेको भन्दै स्थानीयवासिन्दा विरोधमा उत्रिएका हुन् ।
दोलखाको माथिल्लो तामाकोशी आयोजनाबाट उत्पादित बिजुली काठमाडौं उपत्यका तथा देशका अन्य क्षेत्रमा पठाउने प्रशारण लाइनको सबस्टेशन शंखरापुरको बोझनी निर्माण गर्न लागिएको हो ।
यो सब-स्टेसनले माथिल्लो तामाकोशीसंगै एमसीसीले निर्माण गर्ने प्रसारण लाइन र भक्तपुरको खरिपाटीस्थित वितरण केन्द्रलाई जोड्नेछ ।
प्रतिक्रिया 4