+
+
ब्लग :

‘दुर्गमका सर’को अनुभूति

हामीलाई हाम्रो काम खासै केही होइन, सामान्य जस्तो लाग्छ। तर त्यही काम एउटै ठाउँमा भए पनि इमानदारीपूर्वक गर्ने हो भने त्यसले छर्ने सुवास टाढा–टाढासम्म पुग्छ भन्ने अनुभूति भयो।

मोइन उद्दिन मोइन उद्दिन
२०७९ पुष २० गते १३:००

१०औं संस्करणको नेपाल लिटरेचर फेस्टिभलमा ‘दुर्गमका सर-मिस’ सेसनमा वक्ताको रूपमा निम्ता आयो। कार्यक्रममा सहभागी हुन पाउँदा सुखानुभूति भयो। फेस्टिभलका सहनिर्देशक पत्रकार सुजाता खत्रीले लगभग दुई महिनाअघि मलाई आमन्त्रण गर्नुभएसँगै कौतूहल बढिरहेको थियो। मैले त्यतिबेला उहाँलाई आउन असमर्थ हुन सक्छु है भनेर फोनमा भनेको याद छ। यति टाढाको स्कूलमा काम गरिरहँदा बिदा लिन गाह्रो हुने कारण देखाएँ। तर उहाँले चाहनुभयो भने मिलाउन सक्नुहुन्छ भनेर अनुरोध गर्नुभयो।

विगत वर्षहरूमा काठमाडौंमा आयोजित लिटरेचर फेस्टिभलमा दर्शकको रूपमा उपस्थित हुन्थें। मनमा लाग्थ्यो- कुनै दिन यसरी वक्ताको रूपमा बोल्न पाए कस्तो हुन्थ्यो होला ! सन् २०१३ मा नेपाल प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम भएको थियो। भारतीय राजनीतिज्ञ शशी थरुर विशिष्ट वक्ताको रूपमा आउनुभएको थियो। यसरी ठूलो मञ्चमा बसेर प्यानल डिस्कसन गर्दा कस्तो अनुभव हुने होला भन्ने लागेको थियो।

यस वर्ष डिसेम्बर २४ को बिहान ११ बजे ‘दुर्गमका सर-मिस’ सेसनमा त्यो सपना पूरा भयो। खुसी लाग्यो। आफ्नो कर्मले कमाएको इज्जत र प्रतिष्ठामाथि गर्व पनि महसुस भयो।

राजेन्द्र दाहाल, शिक्षक मासिकको सम्पादकले हाम्रो सेसन मोडरेट गर्दै हुनुहुन्थ्यो। हामीले शिक्षण पेशामा काम गर्दै गर्दाको अनुभवबारे सोध्नुभयो। साथमा शिक्षासँग सम्बन्धित प्रश्नहरू पनि।

मैले अनुभवको कसीमा उहाँलाई जवाफ दिएँ। दर्शकदीर्घामा वरिष्ठ लेखकहरू जस्तै खगेन्द्र संग्रौला, सिके लाल, सुबिन भट्टराई, प्रणय राणालगायतका अन्य स्रष्टाहरूको उपस्थिति थियो। यसरी कुरा गर्न पाउँदा खुसी भइरहेको थियो। पहिलो चोटि कसैले प्रत्यक्ष रूपमा सुनिरहेका छन् भनेर आफ्नै आँखाले देख्न पाउँदा त अलि डर पनि नलागेको होइन।

यत्तिका दिग्गजहरूबीच आफ्ना अनुभव भनिरहँदा अलि नबोल्नुपर्ने कुरा पो बोलें कि भन्ने पनि लागिरहेको थियो। म त भर्खर भर्खर शिक्षण पेशामा आबद्ध मान्छे। सन् २०१८ देखि अनवरत देशको विभिन्न भू-भाग जस्तै- सिन्धुपाल्चोक, कर्णाली, नवलपरासी, धादिङलगायतका जिल्लामा पढाउनुका साथै शिक्षण तालिम पनि दिंदै आएको छु। तर उहाँहरू त वर्षौंदेखि विभिन्न पेशामा आबद्ध हुनुहुन्छ। ‘यो केटाले धेरै बोल्यो’ भन्ठान्लान् भन्ने डर चाहिं थियो।

म डिसेम्बर २३ तारिखको दिन धादिङको गंगा–जमुना गाउँपालिकाको वडा नं ४ मा अवस्थित तामाङखर्क स्कुलबाट बिहान ७ बजे जीप चढेर धादिङबेसी झरें, करिब ३ घण्टा लगाएर। बिहान ११ बजे पोखरा जाने बसमा चढेर बेलुका यस्तै साढे ६ बजेतिर चिप्लेढुङ्गा झरें। बाटोको मर्मतले मुग्लिनदेखि नै जाममा परियो।

सुजाताजीको समन्वयमा लेकसाइड पुगें जहाँ मेरो लागि होटल भनिएको रहेछ। केही समय आरामपछि फ्रेस भएर अतिथि रिसोर्ट पुगें जहाँ डिनर पार्टी रहेछ। अलि असहज महसुस गरिरहेको थिएँ। आफूले पत्रपत्रिका, टेलिभिजनमा देखिरहेको, पढिरहेको स्रष्टालाई देख्न र अझ एउटै प्राङ्गणमा रहेर सँगै रात्रिभोजमा सरिक हुँदाको अनुभव नै बेग्लै।

मसँगै अर्को वक्ताको रूपमा गुन्जन लुइँटेल पनि हुनुहुन्थ्यो। उहाँले मलाई देखेर हात हल्लाउनुभयो। मैले पनि हल्लाएँ। उहाँ बसेको ठाउँ नजिक गएँ। साथमा हुनुहुन्थ्यो उहाँको श्रीमान्। भर्खरै विवाह भएको रहेछ उहाँहरूको। हामी तीनै जना सँगै गफियौं, आफ्ना कामका बारेमा। उहाँहरूको प्रेम र बिहेलगायत हल्काफुल्का रमाइलो गफगाफमा। एकअर्काको काम फेसबुकबाट हेरिरहेका थियौं तर आज यसरी प्रत्यक्ष भेट हुँदा रमाइलै भयो।

बिहानको ब्रेकफास्टको समयलाई मैले सक्दो लाभ लिने प्रयास गरें। किनकि आफूले देखेको, सुनेको साहित्यिक स्रष्टाहरू त्यहीं हुनुहुन्थ्यो। उहाँहरूसँग कुराकानी गरें। ‘शिक्षा भनेको के हो?’ सोध्दै मैले उहाँहरूको छोटो भिडियो खिचें।

वरिष्ठ साहित्यकार तथा लेखक खगेन्द्र संग्रौला, मोहन मैनाली, सिके लाल, शिवानी सिंह थारु, पत्रकार गजेन्द्र बुढाथोकी, वरिष्ठ मुटुरोग विशेषज्ञ भगवान कोइराला र हालसालै बुकर प्राइज विजेता श्रीलंकाली लेखक सिहान करुणातिलका लगायतका स्रष्टाहरूको भनाइलाई रेकर्ड गरेर मेरो युट्युब च्यानल र फेसबुक पेजमा अपलोड गरें।

शिक्षाबारे सबैको विचार र अनुभव थाहा पाउन मन थियो। साथै, अरूलाई पनि शेयर गर्न मन लाग्यो। फरक मानिसले शिक्षालाई कसरी बुझेको हुन्छ ? फरक फरक क्षेत्रका मानिसहरूको अनुभव फरक हुने रहेछ। म यो प्रश्न जहाँ पुग्छु त्यहाँ गरिहाल्छु। हुन त यही प्रश्न मैले साना बालबालिकालाई पनि सोधेको छु, उनीहरूको बुझाइ बुझ्नका लागि।

दोस्रो दिनको ब्रेकफास्टमा मैले वरिष्ठ लेखक मोहन मैनालीसँग शिक्षा सम्बन्धी कुरा गरें। उहाँको बाल्यकाल, अध्ययन र यसले एउटा मान्छे र समाजलाई पार्ने प्रभावबारे प्रश्न गरें। मान्छेले किन पढ्नुपर्छ भन्ने प्रश्नमा उहाँको जवाफ रोचक लाग्यो।

ब्रेकफास्टमै संयोगवश शिवानी सिंह थारुसँग पनि कुराकानी भएछ। मैले टिभीमा देखेको उहाँ नै हो भनेर चिनिनँ। पछि सँगै चिया पिउँदा मात्र थाहा पाएँ। लञ्चको बेला जस्मिन थाई एण्ड चाइनिज रेस्टुरेन्टमा जाँदा मैले पत्रपत्रिकामा देखेको, टीभीमा देखेको शिवानी सिंह थारुलाई देखें। उहाँले पनि मतर्फ हेरेर मुस्कुराउनुभयो।

लन्च गरेर निस्किन लाग्दा मैले उहाँको नजिक गएर एकछिन गफ गर्न अनुमति मागें र आफ्नो काम र नाम छोटकरीमा भनें। उहाँले भन्नुभयो, ‘म तपाईंलाई चिन्छु। तपाईंको बारे पढेको छु।’ म चकित परें र खुसी पनि भएँ। अरुलाई जस्तै मैले शिक्षाबारे प्रश्न गर्न चाहें। उहाँले गफिंदै जाँदा उहाँ होटल कौसीमै बस्नुहुँदोरहेछ। अहिले समय नमिले पनि बेलुका कुरा गर्ने भन्नुभयो। यति धेरै गफ गरेको मान्छेलाई मैले भने बेलुका मात्र चिनें।

उहाँको सेसन थियो सिहान करुणातिलकासँग। त्यो सकेपछि मान्छेहरू उहाँसँग कुरा गर्न चाहे, व्यस्त हुन थाल्नुभयो। म केहीबेर पर्खें पनि बिर्सिनुभयो होला भनेर निस्कन थालें। उहाँको फोन आयो। म फर्केर कार्यक्रम स्थलमै गएँ।

त्यहाँबाट हामी बाहिर निस्कियौं। अँध्यारो भइसकेको थियो र मान्छेहरूको हल्ला पनि भएकोले हामी कतै रेस्टुरेन्टमा रेकर्ड गर्ने कि भनेर सल्लाह गर्दै निस्कियौं। तर हामी कुनै रेस्टुरेन्टमा नगएर सीधै हामी बस्ने होटल कौसीमा गयौं।

उहाँले शिक्षक किन हुनुभयो भनेर प्रश्न गर्नुभयो। मैले किन र कसरी शिक्षा क्षेत्रमा काम गरिरहेको छु भनेर कुरा गरें। उहाँले कथा लेख्दै हुनुहुँदोरहेछ र उहाँको कथाको पात्र एउटा शिक्षक रहेछ। त्यसैले पनि उहाँले मसँग गफ गर्न चाहनुभएको रहेछ।

उहाँको बाल्यकाल, स्कुल, अध्ययन, साहित्यमा लगाव, किताबसँगको रुचि, लेखन आदिबारे। सेन्ट मेरिज स्कुलबाट सन् ११९४ मा प्रवेशिका उत्तीर्ण उहाँलाई नेपाली सिक्न १० वर्ष लागेछ। गफिंदै होटल पुग्यौं। उहाँले ९ मिनेट जति अन्तर्वार्ता दिनुभयो।

चिन्न त सबैलाई सतही रूपमा चिनेका अनुहारहरू थिए। तर सबै आ–आफ्नो दुनियाँमा आफैंसँग नजिक भएका पात्रहरूसँग पार्टी इन्जोए गर्दैथिए। म भने एक्लै बसेर टेबलमा जुस र स्न्याक्स खाँदै थिएँ। मैले सिहान करुणातिलकालाई देखें उहाँको परिवारसँग। उहाँको र मेरो आँखा जुध्यो। उहाँ मुस्कुराउनुभयो। मैले उहाँलाई पनि प्रश्न गर्न चाहें शिक्षाको बारेमा।

मैले आफ्नो परिचय दिएँ। मैले आफूलाई चिनाएँ। दुर्गम ठाउँहरूमा गएर पढाउँछु भनेर भनें। उहाँले ‘आई साइन्ड अ बुक फर यु। आई रिमेम्बर योर नेम’ भन्नुभयो। अपराह्नतिर उहाँको सेसनपछि मैले The Seven Moons Of Maali Almeida किताब किनेको थिएँ जुन पुस्तकमा उहाँको हस्ताक्षर थियो।

उहाँले भिडियो अन्तर्वार्ता दिन सहमति जनाउनुभयो। लबीमा गयौं। रेकर्ड गर्दैगर्दा प्राविधिक समस्या आयो। स्पेश सकिएछ। मेटेर पुनः रेकर्ड गर्न पनि उहाँ सहमत हुनुभयो।
यी सब स्रष्टाको भिडियो मेरो सामाजिक संजालमा छन्।

एउटा अनौठो अनुभव पनि बटुलें। हाम्रो सेसन ‘दुर्गमका सर-मिस’को आर्टिकल छापिंदा मेरो भनाइलाई अर्कै वक्ताको भनेर छापिएछ र त्यही आर्टिकल सबै ठाउँमा सर्कुलेट भयो। यसले नमज्जा लाग्यो। मैले अनलाइनखबर र कान्तिपुर दैनिकलाई सच्याउन अनुरोध गर्दा उहाँहरूले सच्याइदिनुभयो। तर अन्य लोकल मिडियामा त्यही नै रह्यो।

जे होस् नेपाल लिटरेचर फेस्टिभलको अनुभव मेरो लागि अविस्मरणीय रहन गयो। पहिलो चोटिको अनुभव र सिकाइ अनमोल रहनेछ मेरो जीवनमा। र, आफ्नो काम कति महत्वपूर्ण छ र कहाँ कहाँ यसले प्रभाव पर्दछ भन्ने कुरा पनि बुझें।

हामीलाई हाम्रो काम खासै केही होइन, सामान्य जस्तो लाग्छ। तर त्यही काम एउटै ठाउँमा भए पनि इमानदारीपूर्वक गर्ने हो भने त्यसले छर्ने सुवास टाढा टाढासम्म पुग्छ भन्ने अनुभूति भयो। यो कुरा नेपाल लिटरेचर फेस्टिभलबाट झनै महसुस गर्ने मौका पाएँ। म जस्तो भुईं मान्छेको लागि यस्तो प्लेट फर्मले ठूलै भूमिका खेल्ने रहेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?