
२० पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि नेपाल राष्ट्र बैंक वित्तीय अनुसाशन र स्थायित्व कायम गर्ने भनिएको चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ संशोधन गर्न राजी भएको छ ।
बुधबार अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्री प्रचण्डसँगकाे भेटपछि गर्भनर महाप्रसाद अधिकारीले मार्गदर्शन संशोधन गरेका हुन् । जसअनुसार केन्द्रीय बैंकले मार्गदर्शनमा भएको चालु सम्पत्ति र वार्षिक काराेबारकाे आधारमा मात्रै चालु पूँजी कर्जा पाइने व्यवस्थालाई तत्काल कार्यान्वयन नगर्ने भएको हाे ।
चालुपूँजी मार्गदर्शनले दिएको सीमा भन्दा बढी ऋण चलाउने व्यवसायीलाई सीमा भित्र ल्याउन २ वर्षकाे समय दिनेगरी मार्गदर्शन संशोधन भएको हो ।
चालुपूँजी कर्जा संशोधनबारे जानकारी दिन राष्ट्र बैंकले बुधबार दिउँसो पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले लामो गृहकार्यपछि ७ भदौ २०७९ चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शनको २०७९ जारी गरेको थियो । १० पुस २०७८ मै ३५ दिनभित्र राय सुझाव पेश गर्न भन्दै मस्यौदा सार्वजनिक गरेको केन्द्रीय बैंकले ७ महिनापछि मात्रै मार्गदर्शन जारी गर्यो भने १ कात्तिकदेखि कार्यान्वयनमा लगेको थियो ।
विभिन्न व्यापारिक फर्म, उद्योग र अन्य व्यावसायिक संस्थाहरुलाई उनीहरुको चालु सम्पत्ति तथा दायित्वहरुको नियमित मूल्यांकन गरेर व्यावसाय संञ्चालन गर्न छोटो अवधिको लागि लिने कर्जा चालुपूँजी कर्जा हो ।
प्रतिक्रिया 4