
२० पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ ले तोकेको सीमा भन्दा बढी कर्जा प्रयोग गर्ने ऋणीलाई उक्त सीमाभित्र ल्याउनका लागि साढे २ वर्षको समय दिएको छ ।
बुधबार चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ लाई संशोधन गर्दै सीमा भन्दा बढी रहेको कर्जालाई आवधिक कर्जामा रुपान्तरण गरी ५ किस्तामा भुक्तानी गर्नसक्ने व्यवस्था गरेको हो ।
‘सीमा भन्दा बढी चालुपूँजी कर्जा प्रयोग गरेका ऋणीलाई सीमा भन्दा बढीको ऋण ५ किस्तामा विभाजन गरेर २०८० असारमा १० प्रतिशत र पुसमा २० प्रतिशत, २०८१ असारमा २० प्रतिशत र पुसमा २० प्रतिशत तथा २०८२ असारमा ३० प्रतिशत भुक्तानी दिनेगरी मार्गदर्शनमा संशोधन भएको छ’ नेपाल राष्ट्र बैंक नियमन विभागका निर्देशक किरण पण्डितले भने ।
यसरी समायोजन गरेको कर्जालाई पुनरसंरचना नहुने र आवाधिक कर्जाको रुपमा गर्नुपर्ने साथै कुनै पनि प्रकारको नोक्सानी व्यवस्था पन गर्नुपर्ने पण्डितले बताए । कुनै ऋणीले साढे २ वर्ष भन्दा अगाडि नै समायोजन गर्छ भने त्यसमा प्रिपेमेन्ट चार्ज नलाग्ने उनले बताए ।
यस्तै बैंकहरुले पनि उक्त व्यवस्था अनुसार कति पोर्टफोलियो समायोजन भयो भनेर मासिक रुपमा राष्ट्र बैंकमा रिपोर्टिङ गर्नुपर्ने उनले बताए ।
प्रतिक्रिया 4