
काठमाडौं । ‘दुई नम्बरी’ फेम्ड निर्माताको आगामी फिल्म ‘हात्तीछाप’को मुख्य नायिकामा उपासनासिंह ठकुरी अनुबन्धित भएकी छन् । निर्माता किरण नेपाली र अभिनेत्री ठकुरीबीच बुधबार लिखित सहमति भएको छ ।
पारिश्रमिकलाई लिएर दुवैलाई चित्त बुझ्ने सहमतिअनुसार उपासनालाई अनुबन्धित गरिएको निर्माता नेपालीले अनलाइनखबरलाई जानकारी दिए ।
यो फिल्मका लागि उपासनाले १० लाख रुपैयाँ पारिश्रमिक मागेकी थिइन् । निर्माता नेपालीले पारिश्रमिक नखुलाए पनि उनको अघिल्लो फिल्म ‘दुई नम्बरी’मा उपासनाले लिएको ६ लाख रुपैयाँभन्दा केही बढी रहेको अनुमान गरिएको छ । अन्य दुई अभिनेत्री फाइनल गर्ने तयारीमा रहेको जनाइएको छ ।
सिमोस सुनुवारले निर्देशन गर्ने एक्सन-थ्रिलर फिल्ममा यसअघि सौगात मल्ल, दयाहाङ राई, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रकाश घिमिरे लगायत अनुबन्धित भइसकेका छन् । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले व्यवसायी अमलादेवी राईसँग मिलेर हात्तीछाप निर्माण गर्न लागेका हुन् । प्रस्तुतकर्ता नेपालीका अनुसार चैतदेखि फिल्मको छायांकन सुरु हुनेछ ।
कामको कुरा गर्दा उपासना अभिनित फिल्म ‘डिसेम्बर फल्स’ अहिले हलमा चलिरहेको छ । उनले यसअघि अभिनय गरेका कबड्डी ३ र दुई नम्बरी बक्स अफिसमा व्यवसायिक रुपमा सफल भइसकेका छन् ।
प्रतिक्रिया 4