+

नेपाल टी-२० लिगमा फारवेस्टलाई हराएपछि विराटनगरको प्लेअफ पुग्ने सम्भावना कायमै

२०७९ पुष  २० गते १६:५३ २०७९ पुष २० गते १६:५३
नेपाल टी-२० लिगमा फारवेस्टलाई हराएपछि विराटनगरको प्लेअफ पुग्ने सम्भावना कायमै

२० पुस ,काठमाडौं । नेपाल टी-२० लिग क्रिकेटमा फारवेस्ट युनाइटेडलाई ६ विकेटले हराउँदै विराटनगर सुपर किङ्सले प्लेअफ पुग्ने सम्भावना कायमै राखेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जितका लागि पाएको १५७ रनको लक्ष्य विराटनगरले १९.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो ।

अन्तिम ओभरमा ३ रन चाहिएको अवस्थामा करण केसीले सुरुका २ बल डट फालेका थिए । तर तेस्रो बलमा पृथु बास्कोटाले चौका हान्दै विराटनगरालाई जिताए । बास्कोटा १७ रनमा अविजित रहे ।

विराटनगरका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६० रन बनाए । उनले ४२ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।

प्रदीप ऎरीले ४० रन बनाए । प्रदीपले २६ बलमा चार चौका र दुई छक्का प्रहार गरे ।

हुसैन तलातले १५ बलमा १ चौका सहित १७ रन बनाए । विवेक कुमार यादव ४ रनमा अविजित रहे । फार वेस्टका प्रकाश जैसी, नुर अहमेद, हस्मतुल्लाह शहिदी र करण केसीले समान एक-एक विकेट लिए ।

त्यसअघि, टस जितेर ब्याटिङ राजेको फार वेस्टले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १५६ रनको योगफल तयार पारेको थियो ।

फार वेस्टका लागि विनोद भण्डारीले ३८ बलमा ६ चौका र दुई छक्का मद्दतमा सर्वाधिक ४५ रन जोडे । अफगानिस्तानका हस्मतुल्लाह साहिदीले २७, करण केसीले अविजित १७, युएईका उमेर अलीले १६ र श्रीलंकाका मिलिन्दा श्रीवर्द्धनले १४ रन जोडे । दोस्रो विकेटका लागि विनोद र कप्तान हस्मतुल्लाहले ६८ रनको साझेदारी गर्दै टोलीलाई सहज स्थितमा पुयाएका थिए ।

विराटनगरका लागि साहब आलमले सर्वाधिक ३ विकेट लिए । कियोन जोसेफले २ विकेट लिँदा रोहितकुमार पौडेल,विवेक यादव र राज नाननले समान एक विकेट लिए ।

८ खेल खेलेको विराटनगर ६ अंकसहित तालिकाको पाँचौ स्थानमा छ । पराजित फारवेस्ट भने २ अंकसहित पुछारमा छ ।

नेपाल टी-२० लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय