
२० पुस, काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने वा नदिने विषयलाई ‘सस्पेन्स’ मा राख्न चाहेका छन् । यथार्थमा एकीकृत समाजवादीले आफ्नो निर्णयलाई गुपचुप राख्न खोजेको हो कि अनिर्णयको बन्दी बनेको हो भन्ने प्रष्ट छैन ।
बुधबार युवा संघको कार्यक्रममा अध्यक्ष नेपालले भनेका थिए, ‘हामी अगाडि सरेर बोल्न के हतार ? हामीलाई के बित्दो छ र ? २६ गते विश्वासको मत लिने हो । त्यही दिन (२६ पुस) निर्णय लिए पुगेन ? त्यतिन्जेल सस्पेन्समै रहोस् ।’
एकीकृत समाजवादी पार्टीका नेताहरु भने प्रचण्ड सरकारमा जाने कि नजाने भन्नेबारे समयोचित निर्णय लिन नसकेको भन्दै नेतृत्वको आलोचना गरिरहेका छन् । मंगलबार अध्यक्ष नेपालले पोलिट्ब्यूरो बैठकमा पार्टीको बदख्वाइँ गर्न बन्द गर्नुपर्ने चेतावनी दिएका छन् । उनले आफ्नो दलको ‘रिकग्निसन’ नहुन्जेल सरकारमा जाने बारे नसोच्न पनि आग्रह गरेका छन् ।
एमालेसहितका दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले २६ पुसमा विश्वासको मत लिँदा एकीकृत समाजवादीका १० सांसदको समर्थन पनि पाउने आशा राखेका छन् । बुधबार उनले सिंहदरबारस्थित आफ्नो कार्यलयमा बोलाएर एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई विश्वासको मत दिन आग्रह गरे । नेपालले भने पार्टीभित्र छलफल गरेर निर्णय दिने बताएका छन् ।
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूहरुसँग पहिले विश्वासको मत देऊ भनेर माग्नुपर्ने बताए । मत देऊ नभनी आफैं मत दिन हिँड्न नमिल्ने उनको भनाइ छ । ‘माग्दै नमागेको कुरो कसरी दिने ?’ अनलाइनखबरसँग खनालले भने, ‘मत माग्नुअघि सरकारले हामी को हो, हाम्रो हैसियत के हो भनेर स्पष्ट गर्नुपर्यो नि । यत्तिकै मत दिँदै हिँड्ने कुरो त भएन ।’
माओवादी स्रोतका अनुसार नेपालले प्रचण्ड सरकारलाई विश्वासको मत दिन सक्ने संकेत गरेका छन् । आफ्ना निश्चित सरोकारहरुलाई प्रचण्डले कसरी सम्बोधन गर्छन् भनी हेरिरहेको उनलाई उद्धृत गर्दै स्रोतले बतायो ।
तर एकीकृत समाजवादीका प्रतिनिधिसभा सदस्यहरु के गर्ने भनी कुनै निर्देशन नआएको, सल्लाह पनि नगरिएको भन्दै गुनासो गरिरहेका छन् ।
नेता खनालले पार्टीमा सल्लाह गर्नका लागि अझै समय रहेको भन्दै त्यसमा हतार नगर्न आग्रह गरे ।
‘अहिले कुनै निर्णय भएको छैन, यसको मतलब हामी अलमलमा छौं भन्ने होइन’, खनालले भने, ‘बेला आओस् न । अनि विचार गरौंला ।’
प्रतिक्रिया 4