
२० पुस, काठमाडौं । इलामका दिनेश (नाम परिवर्तन) एक वर्ष अघिसम्म शेयर कारोबारमा सक्रिय थिए । शेयरमा निरन्तर घाटा भइरहेपछि पाँच महिनाअघि उनले शेयर सम्बन्धी तालिम लिने सोच बनाए ।
उनी मोबाइलमा शेयरसम्बन्धी विभिन्न जानकारी खोजी गरिरहन्थे । त्यही क्रममा फेसबुकमा स्पोन्सर्ड गरिएको एउटा विज्ञापनमा उनको नजर पर्यो । जहाँ लेखिएको थियो, ‘शेयर मार्केट तालिम ।’
१४ वर्ष अनुभव बटुलेका अनुभवी प्रशिक्षकबाट शेयर कारोबार सिकाइने भनेपछि दिनेश बबरमहलस्थित तालिम हुने कार्यालयसम्म पुगे । कार्यालयमा राखिएको विज्ञापनहरुमा पनि भनिएको थियो, ‘यस कोर्स सकिएपछि संसारका सबै स्टक, कमोडिटी, फरेक्स आदि बजारको सजिलै विश्लेषण गरी ट्रेड (कारोबार) गर्न सकिन्छ ।’
१५ दिनको भने पनि जान्ने नहुँदासम्म सिक्न पाइने भनिएको थियो । तर, भर्ना भएको कक्षामा भोलि पल्टदेखि नै शेयर कारोबारको नकारात्मक पक्षबारे मात्र उल्लेख गरियो ।
‘पहिलो दिन अलिअलि शेयर बारेमा भनेका थिए, भोलिपल्टबाट त यसबाट टाट पल्टिइन्छ, यस्तो हुन्छ, उस्तो हुन्छ भन्दै किन फाइदा हुँदैन भन्ने सिकाउन थाले’, उनले अनलाइनखबरसँग भने, ‘त्यसपछि अहिले कमोडिटी मार्केट चलिरहेको बताउँदै त्यसबाट लखपति बन्न सकिने भन्दै आश्वासन दिन थाले ।’
उनका अनुसारसुरुमा ‘होला त नि’ भनेझैं भयो । तेस्रो दिनबाट सबै शेयर छाडेर कमोडिटी मार्केटको कक्षातिर लागे । दिनेशहरुलाई सिकाइए अनुसार कमोडिटी मार्केट भनेको शेयर बजार जस्तै तर, सुन, चाँदी, तामा, ग्यास, तेल लगायतको मूल्यको आधारमा हुने अनलाइन कारोबार हो ।
‘यसबाट शेयरमा जस्तो जोखिम नहुने र पैसा पनि कमाइने भन्दै लोभ देखाएका थिए’, दिनेशले भने, ‘यसबाट अमेरिका, जापान, युरोपमा बसेर रोजगारी गर्दाभन्दा बढी कमाइने भनिएको थियो ।’
त्यसबेला उनीहरुलाई कमोडिटी मार्केट भनेको नेपाल धितो पत्र बोर्ड अन्तर्गतकै भएको बताइएको थियो । त्यही विश्वासमा उनीहरुले कमोडिटी मार्केटमा शेयर खरिद गर्न ब्रोकर कम्पनी मनी स्पेल इन्भेस्टमेन्ट प्रालिका सञ्चालक सुनिल श्रेष्ठको खातामा पैसा जम्मा गर्न थाले ।
‘खाता खोल्न मात्र एक/एक हजार रुपैयाँ मागिएको थियो, तालिमका लागि व्यक्ति अनुसार १५ हजार, ३५ हजार रुपैयाँ लिइएको थियो’, दिनेश भन्छन्, ‘खाता खोल्नलाई रकम दिएपछि क्लाइन्ट कोड नम्बर दिएर मेक्स नेपाल नामक मोबाइल एप डाउलोड गर्न भनिएको थियो ।’
एप्लिकेसनमार्फत सुन, चाँदी, तामा, तेल र ग्यास खरिद बिक्री गर्न लगाइएको उनी बताउँछन् । ती सामग्री भर्चुअल मार्केटमा कहिले बढ्छ, घट्छ भन्ने जानकारी समेत श्रेष्ठ आफैंले बनाएको ह्वाट्स एप ग्रुपमा पठाउने गरेको उनी बताउँछन् ।
‘सुनिलले फाइदा वा घाटा हुन्छ भनेर भनेको आधारमा किन्ने र बेच्नेमा क्लिक गर्ने गरेका थियौं’, दिनेशले थपे, ‘उनले त्यसबेला कमिसन नेपालको धितोपर्ड बोर्ड र टीडीएस नेपाल सरकारको राजश्वमा जान्छ भनेका थिए ।’
कारोबारको सुरुमा दिनेशसहित उनका साथीहरुलाई केही फाइदा पनि भयो । ‘तर, धेरै रकम हाल्न थालेपछि घाटा हुन थाल्यो, बढ्छ भनेका बेला घट्ने, घट्छ भनेका बेला बढ्न थाल्यो’, अर्का पीडित रविन (नाम परिवर्तन) भन्छन्, ‘सुरुमा सुनिलसँग कुरा गर्दा नआत्तिनु अझै पैसा राखेर कारोबार गर्नु नाफा हुन्छ, भएन भने म जिम्मेवार भएँ भन्थे ।’ तर, सुनिलले भनेअनुसार गर्दै जाँदा लाखौं डुबेको पीडितहरु बताउँछन् ।

‘यतिसम्म जोखिम उठाउन सकिन्छ भन्ने सोचेर पनि बाइ (खरिद) र सेल (बिक्री) गर्ने गरेका थियौं, तर निरन्तर घाटा भइरह्यो, उनले पैसा थप्न लगाइरहे’, उनी भन्छन्, ‘पछि सोध्दा अन्तिममा मार्केट खराब भयो, फेरि उक्सिन्छ भन्थे । तर, कहिल्यै फाइदा भएन ।’
सुन, चाँदी, तामा लगायतका धातुको मूल्य विदेशी बजारमा कायम मूल्यका आधारमा तय हुनुपर्ने हो । जानकारहरुका अनुसार त्यसमा निश्चित प्रतिशत थपघट हुनु पनि स्वभाविक हो । तर, यी वस्तुको मूल्यमा विना आधार थप्ने घटाउने गरिएको पीडितहरु बताउँछन् ।
धेरै घाटा लागेपछि उनीहरुले श्रेष्ठसँग कारोबारको स्टेटमेन्ट मागेका थिए । तर उनीहरुले पाएनन् । विवरण नपाएपछि पीडितहरु धितोपत्र बोर्डमा बुझ्न गएका थिए । ‘त्यतिबेला पो थाहा भयो, यो सबै नेपालमा प्रतिबन्धित कुरा रहेछ, बोर्डसँग त्यत्तिकै जोडेर ठगी गरेका रहेछन्’, रविन भन्छन्, ‘टीडीएस पनि काटिएको रहेनछ ।’
श्रेष्ठ सञ्चालक रहेको ट्रेडिङ क्लबमा २९ कात्तिकमा पुग्दा कार्यालय पनि बन्द भइसकेको थियो । ‘फोनमा सम्पर्क गर्दा नउठाउने, कहिले काट्ने, म्यासेज पनि रिप्लाई नगर्ने, उठाउँदा पनि जति दिन बन्द गरेपनि के मतलब भन्दै थर्काउन थाले’, पीडितहरु भन्छन् ।
त्यसपछि उनीहरु प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरीका लागि पुगेका थिए । कार्यालयले यो नेपाल राष्ट्र बैंकले हेर्ने किसिमको मुद्दा भएको भन्दै फर्काइदिएको थियो । पछि पीडितहरु जिल्ला प्रहरी परिसर, काठमाडौं पुगे ।
परिसरमा पनि प्रहरी अधिकृतहरुलाई यसबारे बुझाउन निकै मेहनत गर्नुपरेको पीडितहरु बताउँछन् । पछि प्रहरीले जाहेरी दर्ता गर्यो । उनीहरुका अनुसार अहिले प्रहरीकहाँ ५ जनाको किटानी जाहेरी परेको छ । थप जाहेरी पनि आउने क्रममा छ । नेपालमा मात्रै मेक्स नेपाल एपका ३० हजार भन्दा बढी प्रयोगकर्ता छन् । जाहेरी दिनेमध्येबाट मात्रै पनि ३७ करोड रुपैयाँ बढी ठगिएको पीडितहरु बताउँछन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरतबहादुर बोहराका अनुसार पीडितको जाहेरीका आधारमा अहिले चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्पेल इनभेष्टमेन्ट प्रालि र ट्रेडिङ क्लबका सञ्चालक सुनिल श्रेष्ठ, उनकी पत्नी कञ्चन श्रेष्ठ, मर्कन्टाइल एक्सचेन्ज नेपाल लिमिटेड (मेक्स) का प्रमुख कार्यकारी अधिकृत जितेश सुरेन्द्रण र यसका प्रवक्ता छन् ।
मेक्स नेपालको वेबसाइटमा सुरेन्द्रणलाई सन् २०१७ मा पूर्व अर्थ राज्यमन्त्री उदयशमशेर राणाले ‘नेपाल ब्राण्ड लिडरसीप अवार्ड’ दिएको भन्दै तस्वीर राखिएको छ । वेबसाइटमा सुरेन्द्रणलाई साउथ एसिएन फेडेरेसन अफ एक्सचेन्जेज (सेफ) को उपाध्यक्ष पनि भनिएको छ ।
सुरेन्द्रणसहित चारै जनाविरुद्ध मुलुकी अपराध संहिताको ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिएको एसएसपी बोहराले बताए । प्रहरीले यसलाई संगठित अपराधको कसूर अन्तर्गत पनि मुद्दा चलाउने तयारी गरेको छ ।
अनुसन्धानमा संलग्न अर्का एक अधिकृतले बताए अनुसार यो कम्पनीले एउटा बैंकमा मात्रै ३७ करोड रुपैयाँ मुद्धति खाता (फिक्स डिपोजिट) मा राखेको पाइएको छ । उनीहरुले कमिसनबाट मात्रै पनि प्रयोगकर्ताबाट उठाएको रकमको ७५ प्रतिशतसम्म लिने गरेको अनुसन्धान अधिकृतहरु बताउँछन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एक जना प्रहरी नायब उपरीक्षक (डीएसपी) भन्छन्, ‘यो निकै ठूलो ठगीको र्याकेट रहेछ ।’ एसएसपी बोहराले चाहिँ अनुसन्धान अझै जारी रहेको बताउँदै पत्रकार सम्मेलन गरेर जानकारी दिने तयारी भइरहेको बताए ।
२०७६ को माघ पहिलो साता कमोडिटी बजारबाट ऋणमा डुबेपछि चन्द्रागिरीस्थित मंगलोदय क्याम्पसमा व्यवस्थापन संकायका शिक्षक विनय लामिछानेले आत्महत्या गरेका थिए ।
कमोडिटी बजारमा गरेको लगानीले नै उनको सपरिवार आत्महत्या गर्ने निर्णयसम्म पुग्न बाध्य भएको अनुसन्धानले देखाएको थियो । उनी एक्सचेन्ज कम्पनी नेपाल डेरिभेटिभ एक्सचेन्ज प्रालिमा १३ औं नम्बरका ब्रोकर थिए ।
(यसअघि समाचारमा असावधानीबस पक्राउ परेका व्यक्तिको भनेर गलत फोटो परेकाले क्षमायाचनासहित हटाइएको छ । –प्रधान सम्पादक)
प्रतिक्रिया 4