
२० पुस, काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेशमा संघीय सरकारमा भन्दा विपरीत समीकरण बनाउने आफूहरुको चाहना नभएको बताएका छन् ।
‘नयाँ सत्ता समिकरणतर्फ ध्यान दिएका छैनौं । संघमा पनि र प्रदेशमा पनि’ अध्यक्ष राउतले अनलाइनखबरसँग भने । संघीय सरकार निर्माणमा बनेको सत्ता समीकरण विपरीत मधेश प्रदेशमा सरकार बनाउन कांग्रेसले पहल गरेको र त्यसमा जनमत पार्टी सहभागी हुन सक्ने भनी चलेका चर्चा गलत भएको उनको भनाइ छ ।
तर, मधेश प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा कुरा मिल्न बाँकी रहेको अध्यक्ष राउतले बताए । सत्ता साझेदार दलहरुका बीचमा मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीलाई मधेश प्रदेश सरकारको नेतृत्व आधा÷आधा कार्यकाल गर्न दिने मौखिक समझदारी छ । कसले पहिले नेतृत्व गर्ने विषय टुंगिन बाँकी छ ।
१०७ सदस्यीय मधेस प्रदेश सभामा सरकार बनाउन ५४ सिट आवश्यक पर्छ । सबैभन्दा धेरै २३ सिट एमाले छ । कांग्रेसको २२, जसपाको १६ र जनमतको १३ सिट छ । माओवादी केन्द्र र लोसपाको ९-९, एकीकृत समाजवादीका ७, राप्रपाका र नागरिक उन्मुक्तिका एक-एक सांसद छन् । तीन स्वतन्त्र सांसद छन् ।
प्रतिक्रिया 4