
काठमाडौं । कुनै समयकी चर्चित अभिनेत्री जल शाह डेढ दशकदेखि अमेरिकामा बसोबास गर्दै आएकी छन् । त्यता लागेदेखि उनी फिल्म करिअरबाट टाढा रहिन् । तर फिल्मप्रतिको मायाले उनलाई पछ्याउन छाडेको छैन । यसै साता जल नेपाल आएकी छन्, उनी एक महिना यतै रहनेछिन् ।
तीन वर्षपछि नेपाल आएकी जलले यसपटकको बसाइमा घुमघाम गर्ने, लङड्राइभ गर्नेदेखि फिल्म क्षेत्रका साथीभाइलाई भेट्ने योजना पनि बुनेकी छन् । सपरिवार आएकी जल काठमाडौंको मैतिदेवीस्थित घरमा बसेकी छन् । यसअघि आउँदा जलले फिल्ममा फर्कन र अभिनेता रमेश उप्रेतीसँग पुनः सहकार्य गर्न आफूलाई इच्छा लागेको बताएकी थिइन् ।
रमेशले पनि जललाई आफ्नो आगामी प्रोजेक्टमा लिनेबारे भेटेरै प्रस्ताव गर्ने बताए । ‘कमब्याकको कुरा जल शाहमै निर्भर गर्छ । पहिलेदेखि हाम्रो बन्डिङ राम्रो छ । फिल्ममा फर्कने कुरा उहाँसँग मिटिङ गरेर टुंगो लाग्ला,’ रमेशले अनलाइनखबरसँग भने, ‘चाँडै भेट हुन्छ र हामी यसबारे कुरा गर्छौं ।’
जलको फिल्म करिअर १३ वर्षको उमेरमा धार्मिक फिल्म ‘श्रीस्वास्थानी’बाट सुरु भएको थियो, त्यसमा उनले केमियो भूमिका निर्वाह गरेकी थिइन् । त्यसयता उनले अवतार, ईश्वर, शंकर, घुम्टो, ठूल्दाइ, नेपाली बाबु, एक नम्बरको पाखे, नाता रगतको, नेपाल प्यारो छ, बुहारी, आशिर्वाद, बादलपारि, यो मायाको सागर, सन्यास, जे भो राम्रै भो, जेठो कान्छो, राजु राजा राम, क्रोध र मजदुरमा अभिनय गरिन् । उनको पछिल्लो फिल्म मजदुर सन् २००६ मा रिलिज भएको थियो ।
प्रतिक्रिया 4