२१ पुस, काठमाडौं । नेपाल टी–२० लिगमा खराव लयमा रहेको फारवेस्ट युनाइटेडले काठमाडौं नाइट्समाथि ८३ रनको रवाफिलो जित हासिल गरेको छ । लिगको आठौं खेलमा उसको यो दोस्रो जित हो ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १९८ रनको लक्ष्य पछ्याएको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर ११४ रनमात्र जोड्न सक्यो ।
यसअघि टस जितेर ब्याटिङ रोजेको फारवेस्टले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९७ रनको योगफल खडा गरेको थियो । ओपनरहरु कप्तान हस्मतुल्लाह साहिदी र विनोद भण्डारीले १५७ रनको सुरुवाती साझेदारी गरेपछि फारवेस्ट विशाल योगफलमा अघि बढेको थियो ।
जारी नेपाल टी–२० लिगको यो सर्वाधिक रन साझेदारी हो । १६.३ ओभरमा अविनाश बोहराको बलमा क्याचआउट हुनुअघि विनोदले ४४ बलमा ६ चौका र ५ छक्कासहित ७३ रन बनाए ।
शाहिदीले ५७ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ७६ रन जोडे । करण केसी ८ बलमा ३ छक्कासहित २२ रनमा अविजित रहे ।
बलिङमा काठमाडौंका बसिर अहमदले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । अविनाश बोहराले एक विकेट लिए ।
जवाफमा काठमाडौंले अपेक्षाकृत ब्याटिङ गर्न सकेन । उसका लागि कमलसिंह ऐरीले सर्वाधिक २० रन बनाए । उनले १९ बल खेल्दै २ छक्का प्रहार गरे । कप्तान ज्ञानेन्द्र मल्ल र सन्दीप रजालीले समान १७ रन बनाए । ओपनर विरनदिप सिंहले १४ र सुनाम गौतमले १६ रन बनाउन सके ।
बलिङमा फारवेष्टका दुर्गेश गुप्ता, करण केसी र हस्मतुल्लाह शहिदीले २-२विकेट लिए । शेर मल्ल र प्रकाश जैशीले १-१ विकेट लिए ।
जारी प्रतियोगितामा ८ खेल खेलेको फारवेस्टले २ जित सहित प्लेअफ सम्भावना कायमै राखेको छ । ६ हार र २ जित सहित ४ अंकका साथ तालिकाको पुछारमा छ । ९ खेलमा काठमाडौं ४ जित र ५ हारसहित ८ अंक जोडेर तेस्रो स्थानमा छ । लिग चरणमा फारवेस्टले २ तथा काठमाडौंले एक खेल खेल्न बाँकी छ ।
प्रतिक्रिया 4