
२१ पुस, वीरगञ्ज । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल र उपमेयर भोला अधिकारी बिहीबार विहान जनकपुर जाँदै थिए ।
जीतपुरसिमरा–१६ पसाहापुल नजिकै गाडी दुर्घटना भएको देखे । उनीहरु ओर्लिएर घाइतेहरुको उद्धार गर्नतर्फ लागे । उनीहरुले पालिकाको ना १ झ १६१९ नम्बरको गाडीमा दुई जना घाइतेलाई राखेर सिमरास्थित अल्पाइन अस्पताल पठाएको मेयरका स्वकीय सचिव कपिल सुवेदीले बताए ।
टाँगिया बस्तीबाट पिलुवा जाँदै गरेको साइकल र प्र.२–०३–००२ प ४५८७ नम्बरको स्कुटरलाई ग २ च ४४१३ नम्बरको गाडीले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा स्कुटर चालक जीतपुरसिमरा–१६ बस्ने ४० वर्षीय राजेन्द्र माझीको मृत्यु भएको छ । अल्पाइन अस्पतालले बिहान पौने ८ बजे राजेन्द्रको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । ्
दुर्घटनामा साइकल चालक जीतपुरसिमरा–१६ बस्ने २८ वर्षीया रुपा आले र पछाडि बसेकी २९ वर्षीया सोनिया योञ्जन घाइते भएका छन् । रुपाको खुट्टामा सामान्य चोट लागेको छ भने सोनियाको शरीरको बायाँपट्टी चोट लागेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा स्वीपरको मृत्यु
बुधबार राति जीतपुर सिमरामै भएको अर्को दुर्घटनामा जितपुर सिमरा उपमहानगरपालिकाका स्वीपर मनोज मल्लिकको मृत्यु भएको छ । वडा नं २ को जगदम्बा फ्क्ट्री अगाडि पथलैयातर्फ जाँदै गरेको ना २० प ७१६४ नम्बरको मोटरसाइकललाई ना ७ ख ४२३७ नम्बरको टेलर गाडीले ठक्कर दिँदा २४ वर्षका मल्लिकको मृत्यु भएको हो । उनको उपचारका क्रममा राति साढे ११ बजे वीरगञ्जको नारायणी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । पर्सा गाउँपालिका– २ संग्रामपुरका ७५ वर्षीय पैदल यात्री नथुनी बैठा रहेको प्रहरीले जनाएको छ ।
सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी विजय यादवका अनुसार बैठालाई बुधबार साँझ संग्रामपुर स्थित भित्री सडकखण्डमा बी.आर.०१ बी ५९१७ भारतीय नम्बर प्लेटको मोटरसाइकलले ठक्कर दिएको थियो । उनको उपचारको क्रममा स्थानीय नारायणपुर मेडिकलमा मृत्यु भएको डीएसपी यादवले जानकारी दिए ।
प्रतिक्रिया 4