
२१ पुस, विराटनगर । विराटनगरमा प्रदेश १ सरकारको स्थायी संरचना निर्माणका लागि दुई व्यक्तिले ७ विघा जग्गा दिने प्रस्ताव गरेका छन् । प्रदेश १ सरकारले केही समय अगाडि जग्गा दान गर्न आग्रह गर्दै सूचना जारी गरेको थियो ।
सूचनापछि विराटनगर महानगरपालिका– ५ मा पाँच विघा र वडा नं ६ मा दुई विघा जग्गा दिने प्रस्ताव आएको आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले जानकारी दिए ।
विराटनगर-५ मा प्रदीप श्रेष्ठले प्रदेश सरकारको स्थायी संरचना बनाउन र वडा नं ६ मा दीक्षान्त पोखरेलले प्रदेशसभा भवन निर्माणका जग्गा दिन निवेदन दिएका हुन् ।
विराटनगर महानगरपालिकाले बुढीगंगा गाउँपालिकामा आफ्नो स्वामित्वमा रहेको पाँच विघा जग्गा मन्त्री आवास निर्माणका लागि दिने निर्णय गरेको थियो । गत असोज १२ गते बसेको नगर कार्यपालिकाको बैठकले ल्याण्डफिल साइटका लागि महानगरले खरिद गरेको २७ विघामध्ये पाँच विघा जग्गा दिने निर्णय गरेको थियो ।
‘हामीले स्थायी संरचना र मन्त्री आवास निर्माणका लागि जग्गा प्राप्तीको प्रक्रिया अघि बढाएका छौं’, मन्त्री कार्कीले भने, ‘नयाँ सरकारले जग्गा प्राप्तिको प्रक्रिया पूरा गरेर स्थायी संरचना निर्माण सुरु गर्नुपर्छ ।’
प्रतिक्रिया 4