
२१ पुस, काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले सेवाग्राहीको गुनासो सुन्न दैनिक एक घन्टा समय छुट्टयाएका छन् ।
बिहीबार सेवा प्रवाहका लागि ‘टाइम कार्ड’ लागू गराएका उनले दिनमा एक घन्टा गुनासो सुन्ने समय छुट्टयाएका हुन् । दैनिक ३ देखि ४ बजेसम्म उनले सेवाग्राहीको गुनासो सुन्ने समय छुट्याएको बताएका छन् ।
‘प्रशासनका काम कारबाहीबारे सेवाग्राहीले बाहिर गुनासो गरिरहनुभएको हुन्छ, तर हामीलाई थाहै हुन्न’, उपाध्यायले अनलाइनखबरसँग भने, ‘त्यसैले दैनिक एक घन्टा सेवाग्राहीका कुरा सुन्नलाई समय नै छुट्टयाएको हुँ ।’ यसले प्रशासनको सेवा प्रवाहलाई चुस्त, दुरुस्त बनाउने अपेक्षा गरिएको उपाध्यायले बताए ।
उनका अनुसार कार्यालयमा सेवा लिन आउनेमध्ये ६५ वर्षमाथि, अशक्त र बच्चासहितका महिलालाई लाइनमा नराखी सेवा दिने निर्णय पनि भएको छ । कोही ७५ वर्षमाथिका सेवाग्राही भए सहयोगी लगाएर सेवा दिइने उपाध्यायले बताए ।
प्रशासनमा टाइम कार्ड लागू गरिएकै दिन बिहीबार उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पनि जिल्ला प्रशासन कार्यालय, काठमाडौंको निरीक्षण गरेका थिए । उनले नागरिकलाई सास्ती नहुने गरी काम गर्न प्रजिअ उपाध्यायलाई निर्देशन दिएका छन् ।
प्रतिक्रिया 4