
२२ पुस, काठमाडौं । सरकारले यात्रुबाट जफत भएका १५१ वटा मोबाइल सेट लिलामका लागि राखेको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले यात्रुले भन्सारको छुट सुविधा मिचेर र कानुनको तोकेकोभन्दा बढी संख्यामा ल्याएको मोबाइल जफत गर्ने गरेको छ ।
ती मोबइल नियमित रुपमा लिलामी गर्ने गरेको कार्यालयको मुद्दा तथा लिलामी शाखाले १८ पुसमा १५१ थान मोबाइल (आइफोनसहित) लिलामीमा राखेको हो । न्यूनतम मूल्य ९३ लाख ५४ हजार रुपैयाँ तोकेर लिलामीको सूचना प्रकाशित भएको हो । ३५ थान प्ले स्टेसनमा सामग्री पनि लिलामीमा राखिएको छ ।
गत १३ मंसिरमा पनि कार्यालयले करिब २६ लाख रुपैयाँ मूल्यको २७ थान मोबाइल लिलामीको सूचना प्रकाशित गरेको थियो । भन्सार तिर्नुपर्ने तय भएका मोबाइललाई यात्रुले शुल्क तिरेपछि ४५ दिनभित्र जाँचपास गरेर लैजान पाउँछन् । तर, केही यात्रुहरु यस्तो शुल्क तिर्न तयार नभएपछि उनीहरुको फोन लिलामीमा राख्ने गरिएको छ । यस्ता फोन लिलामीबाट कार्यालयले राजस्व पनि पाउँछ ।
शिलबन्दीको माध्यमद्वारा लिलाम बिक्री गर्नुपर्ने भएकाले इच्छुक संस्थाबाट १५ दिनभित्र गोप्य शिलबन्दी दरभाउपत्र आह्वान गरिएको हो ।
विदेशबाट फर्किने नेपाली यात्रुले एउटा मात्रै मोबाइल साथमा ल्याउन पाउने व्यवस्था छ । तर, धेरै यात्रुले उपहार स्वरुप ल्याएका फोन समातिने गरेका छन् ।
यसको आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले अर्थ मन्त्रालयलाई अतिरिक्त मोइबल ल्याउन दिने व्यवस्था गर्न निर्देशन दिएका छन् । तर, आर्थिक ऐनअनुसार प्रकाशित राजपत्र संशोधन नभएकाले अतिरिक्त मोबाइल ल्याएमा जाफत गर्ने क्रम रोकिएको छैन ।
हेर्नुहोस् लिलाम बिक्रीसम्बन्धी सूचनाः
प्रतिक्रिया 4