+
+

संसदलाई सम्पत्ति विवरण बुझाउने पहिलो माननीय

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २४ गते १४:३५

२४ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा (सुवोध)ले आफ्नो सम्पत्ति विवरण संघीय संसद सचिवालयमा बुझाएका छन् ।

सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिन भित्र सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ । यही व्यवस्था अनुसार आफूले संसद सचिवालयमा सम्पत्ति विवरण बुझाएको सांसद सापकोटाले बताए ।

संसद सचिवालयका अनुसार गत ४ मंसिरमा सम्पन्न आम निर्वाचनबाट चुनिएर आएका २७५ प्रतिनिधिसभा सदस्यहरुमध्ये सिन्धुपाल्चोकबाट निर्वाचित सापकोटाले सबैभन्दा पहिले सम्पत्ति विवरण बुझाएका हुन् ।

‘पारदर्शिता र सुशासनको विषय उठाएर चुनाव जितेको हुँ । भोलि (सोमबार)बाट अधिवेशन सुरु हुँदैछ । त्यसअगावै सम्पत्ति विवरण बुझाएको छु’ सापकोटाले भने ।

सापकोटाले संसद सचिवालयमा बुझाएको विवरण अनुसार उनका बुबा हरिप्रसाद सापकोटाको नाममा सिन्धुपाल्चोकको बलेफीमा १ रोपनी र बुबाकै नाममा सिन्धुपाल्चोककै कुविण्डे र फुल्पिङकट्टीमा ५० रोपनी खेतबारी पैतृक सम्पत्ति छ ।

श्रीमतीको नाममा कागेश्वरी मनहरा नगरपालिकामा ४ आना जग्गा ऋण (बैंक लोन) लिएर खरिद गरेको उल्लेख गरेका छन् । श्रीमतीकै नाममा भक्तपुरमा ५ आना जग्गा व्यवसायका लागि लिएको पनि विवरणमा समावेश छ । दाइजो र खरिद गरेको समेत गरी १० तोला सुन, एभरेष्ट बैंकमा आफ्नै नाममा ३ लाख रुपैयाँ नगद रहेको बताएका उनको नाममा सिन्धुपाल्चोक जलविद्युत कम्पनीको शेयर रहेको उल्लेख छ ।

काठमाडौंको घर निर्माणका लागि तीन जनासँग ९५ लाख ऋण लिएको पनि विवरणमा समावेश छ । सवारीसाधनतर्फ ल्याण्डकुजर जीप र श्रीमतीको स्कुटर, यसका अलावा ल्यापटप, प्रिन्टर लगायतका व्यक्तिगत प्रयोजनका सामाग्रीहरु रहेको विवरणमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?