
२४ पुस, पोखरा । कुनै एक समय थियो, जतिबेला अधिकांश नेपाली फिल्म गीतमा उदितनारायण र दीपा झाको जोडीले एकछत्र राज गर्यो । भारतको पश्चिम बंगालमा जन्मिएकी दीपा गहतराज पछि गायक उदितनारायण झासँग वैवाहिक जीवनमा बाँधिएपछि दीपा झा बनिन् । उनले सुरुवाती समयमा गाएको चलचित्र ‘कुसुमे रुमाल’को शीर्ष गीत आज पनि नेपालीको जनजिब्रोमा उत्तिकै झुण्डिएको छ ।
दीपाले नेपाली सुगम संगीतसहित सम्झना, कुसुमे रुमाल, मसाल, अन्याय, पिरती, सन्तान, कन्यादान, फेरि भेटौंला, कर्जा, पछ्यौरी, देउकी, ट्रक ड्राइभर, कसमलगायत थुप्रै नेपाली फिल्म गीतमा आवाज भरेकी छन् ।
नेपाली संगीत क्षेत्रकी उनै सदावहार गायिका दीपा झालाई पोखरेलीले पुस २९ गते पोखरामा सुन्न पाउने भएका छन् । यो अवसर जुराइदिन लागेको हो, पोखरा क्षेत्रमा महिला संगीतकर्मीको संगठन हार्मोनी पोखराले ।
टेस्ट अफ हार्मोनीको चौथो संस्करणमा संस्थाले दीपानारायणलाई उभ्याउन लागेको हो । उनको सम्मानमा कार्यक्रमको नाम नै ‘धुनहरुमा दीपा नारायण’ राखिएको छ । ‘सो कार्यक्रममा दीपा झालाई विशेष सम्मान गर्नेछौं,’ हार्मोनी पोखराका अध्यक्ष इतु जोजिजुले भनिन्, ‘कार्यक्रमले दीपानारायणका विगत अनुभवलाई नजिकबाट सुन्ने मौका पाउनेछौं ।’
टेस्ट अफ हार्मोनीको दीपा झा समर्पित चौथो संस्करणमा दीपासहित दर्जनभन्दा बढी कलाकारको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा इतु जोजिजु, शीतल थापा, अजुदा थापा, कौशल्या गुरुङ, मितु पाल सिंह, लक्ष्मी गिरी, प्रतीक्षा देवकोटा, देवी गुरुङ, रजनी ऋदम राई, प्रिया गुरुङ र प्रकृति गुरुङले प्रस्तुति दिनेछन् ।
त्यस्तै, पुरुषबाट गायनमा रामभक्त जोजिजु, विनोद बानियाँ, सन्तोष बस्याल, ज्ञान थापा र मिलन तमुले जाथ दिने अध्यक्ष जोजिजुले जानकारी दिइन् । ‘दीपानारायण झाले गाउनु भएका दुई दर्जनभन्दा बढी गीत हाम्रा कलाकारले गाउँदाको क्षण साँच्चै गज्जबको हुनेछ,’ उनले भनिन् ।
कार्यक्रममा क्यान्सर पीडित लक्ष्मी भट्टराई र भायोलिन तथा पियानोवादक उपासना पाख्रिनलाई पनि प्रोत्साहन सम्मान गरिनेछ ।
टेस्ट अफ हार्मोनीको पहिलो संस्करणमा वरिष्ठ गायिकाहरु मीरा राणा, बाबा राणा, ज्ञानु राणा र रचनाकार वसन्ती लालचनलाई सम्मान गरिएको थियो । दोस्रो संस्करणमा वरिष्ठ लोक गायिका तथा प्राज्ञ हरिदेवी कोइराला, उषा शेरचनलाई हार्मोनी सम्मान दिइएको थियो भने नेपालकै पहिलो पाश्र्व संगीतकार शान्ति ठटाललाई हार्मोनी अभिनन्दन गरिएको थियो ।
‘धुनहरुमा तारादेवी र अरुणा लामा’ नाम दिइएको तेस्रो संस्करणमा दार्जिलिङकी गायिका दावा ग्याल्मो, वरिष्ठ नृत्यांगना रत्न दासलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया 4