
२४ पुस,काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेताको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिएको छ ।
आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सरकार सञ्चालनका लागि सत्ता साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने निर्णय गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । न्यूनतम साझा कार्यक्रमलाई छिटै औपचारिक रूपमा सार्वजनिक गर्ने पनि बैठकले निर्णय गरेको छ ।
सत्ता साझेदार दलहरुले बनाएको कार्यदलले शनिबार शीर्ष नेताहरुलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएका थिए । बैठकले प्रधानमन्त्री प्रचण्डका लागि संसदमा रहेका सबै दलसँग विश्वासको मत माग्ने निर्णय पनि गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा सत्ता साझेदार दलहरूबीच संघीय र प्रादेशिक तहमा सत्ता साझेदारीको प्याकेजका बारेमा समेत छलफल भएको छ ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउत सहभागी थिए ।
प्रतिक्रिया 4