+
+

मिडिया एक्सन नेपालको प्रेस अवार्ड वोर्णबहादुर कार्कीलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २५ गते ११:०३

२५ पुस, काठमाडौँ । मिडिया एक्सन नेपालले तीनवटा प्रेस पुरस्कार स्थापना गरेको छ । संस्थाका अध्यक्ष लक्ष्मणदत्त पन्तका अनुसार पत्रकारिता, प्रेस स्वतन्त्रता र सञ्चार शिक्षाका क्षेत्रमा काम गर्दै आएका विभिन्न विशिष्ट व्यक्तिहरूको योगदानको कदर गर्दै पुरस्कार स्थापना गरिएको हो ।

‘मिडिया एक्सन नेपाल–प्रेस अवार्ड्स’ नामका यी पुरस्कार पत्रकारिता, मिडिया शिक्षा तथा प्रशिक्षण, सञ्चार विकास र प्रेस अधिकारको संरक्षणका लागि सक्रिय व्यक्तित्वहरूलाई सम्मान गर्न स्थापना गरिएको अध्यक्ष पन्तले जानकारी दिए ।

यी पुरस्कार हरेक वर्ष मिडिया एक्सन नेपालको स्थापना दिवस अर्थात् डिसेम्बर २१ का दिन पत्रकारिता, प्रेस स्वतन्त्रता र मिडिया शिक्षा गरि तीन विधामा प्रदान गरिने छ । हरेक विधामा पुरस्कारका साथ २५ हजार रुपैयाँ र प्रशंसापत्र पनि प्रदान गरिनेछ ।

यी पुरस्कार नेपालमा स्वतन्त्र र जिम्मेवार मिडियाको विकासका लागि प्रोत्साहन स्वरूप प्रदान गरिन लागेको अध्यक्ष पन्तले बताए । ‘स्वतन्त्र पत्रकारितामा धेरै दृश्य र अदृश्य शक्तिहरूबाट आक्रमण भइरहेको र सञ्चारमाध्यमको विश्वसनीयतामा राज्य र समाजका विभिन्न अङ्गहरूबाट नियमित रूपमा प्रश्न उठिरहेको अवस्थामा यी पुरस्कारले शक्तिलाई प्रश्न सोध्न सक्ने, समाजलाई ऐना देखाउन सक्ने र जनताप्रति जवाफदेही रहन सक्ने सशक्त र जिम्मेवार सञ्चार जगत निर्माणमा असाधारण भूमिका निर्वाह गरिरहेका मानिस र तीनको कामलाई प्रकाशमा ल्याउने हामीले विश्वास गरेका छौँ,’ उनले भने ।

 पुरस्कार प्रदानको पहिलो वर्ष भएकोले सन् २०२३ मा संस्थाले तीनै विधालाई समावेश गरी एकल पुरस्कार प्रदान गर्ने उनले जानकारी दिए ।

मिडिया एक्सन नेपालले यस वर्षको पुरस्कार वरिष्ठ अधिवक्ता तथा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष बोर्णबहादुर कार्कीलाई प्रदान गर्ने निर्णय गरेको छ । कार्की विगत लामो समयदेखि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा आवाज उठाउँदै आइरहेका र प्रेस काउन्सिलमा रहँदा र त्यसअघि र पछि पनि उनले नेपालको सञ्चार क्षेत्रलाई सुदृढ पार्न धेरै किसिमले योगदान दिएका अध्यक्ष पन्तले बताए । जनवरी १० ( पुस २६ गते) मंगलबार काठमाडौंमा आयोजना हुने एक कार्यक्रममा उनलाई सम्मान गरिनेछ ।

मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्कको सदस्य समेत रहेको मिडिया एक्सन नेपाल देशमा अभिव्यक्ति स्वतन्त्रता र सञ्चार विकासका लागि विगत आठ वर्षदेखि क्रियाशील संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?