+
+

यो संसद हाम्रो परीक्षाको केन्द्र हो : प्रधानमन्त्री प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २५ गते १३:३५

२५ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो संसद आफूहरुको परीक्षाको केन्द्र भएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले सुशासन र जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्ने कि नसक्ने भन्ने परीक्षा संसदमा हुने बताएका हुन् । ‘हामीले सुशासन दिन सक्छौं कि सक्दैनौं, जनताको जीवनमा सार्थक परिवर्तन ल्यायन सक्छौं कि सक्दैनौं’ उनले भने, ‘यो संसद हाम्रो परीक्षाको केन्द्र हो ।’

उनले परम्परागत राजनीतिक अभ्यासले मात्र नागरिकको चाहना पूरा नहुने भन्दै सबै सांसदहरु जनताको निरन्तर निगरानीमा रहेको पनि बताए ।

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा आएका नयाँ दल र सांसदहरु संसदको पुँजी भएको बताएका छन् । उनले नयाँ दलले संसदमा प्रतिनिधित्व गर्नु लोकतन्त्र र नागरिक सम्प्रभुताको जित भएको पनि बताए ।

‘विना इर्ष्या मनैदेखि भन्न चाहन्छु । यो लोकतन्त्र र नागरिक सम्प्रभुताको जित हो, उहाँहरुमा केही गरौं भन्ने हुटहुटी छ । यो संसदको पुँजी हो, तपाईहरुलाई हृदयदेखि नै स्वागत छ’ उनले भने ।

मुलुकमा केही हुँदैन भन्ने हीन भावना भएका बेला गरे के हुँदैन भन्ने भावना जगाउनुपर्ने प्रधानमन्त्री प्रचण्डले बताए ।

उनले आफूहरुलाई समस्या केलाएर बस्ने मात्र छुट नभएको भन्दै समाधानको सूत्र पहिल्याउनुपर्ने बताए । ‘म आशावादी छु । यो प्रतिनिधसभा सार्थक संवादको थलो बन्ने छ । हाम्रो अभ्यासमा जनताले गौरव गर्ने वातावरण बन्नेछ । राष्ट्रको आवश्यकताको बारेमा विवेकपूर्ण निर्णय लिन सक्नेछौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?