
२५ पुस, काठमाडौं । गठबन्धन टुटाएर नयाँ समीकरणअन्तर्गत प्रधानमन्त्री बनेपछि पुष्पकमल दाहाल प्रचण्ड पहिलोपल्ट प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगे ।
धुम्बाराहीमा सरेका देउवाको निवासमा प्रचण्डसँग कुराकानीमा थिए नेताहरु पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौला । उनीहरुले प्रचण्डसँग सौहार्द वार्ता गरेको बताए, तर भित्र खास कुरा के भयो भन्नेबार स्पष्ट बताएनन् ।
खड्काले अनलाइनखबरसँग भने, ‘प्रचण्डलाई कुनै आश्वासन दिएका छैनौं, पहिले पार्टीमा सल्लाह गर्छौं ।’ पूर्णबहादुर खड्कासँग यो संक्षिप्त वार्ता :
प्रधानमन्त्रीसँग के कुरा भयो ?
प्रधानमन्त्री प्रचण्डजी हाम्रा सभापतिज्युको निवासमा आउनुभयो । ‘मलाई विश्वासको मत दिनुपर्यो सभापतिज्यू, लौ म त भोट माग्न आएँ’ भन्नुभयो । हामीले पनि उहाँका कुरा सुन्यौं । यस्तै भयो ।
तपाईंहरुले उहाँलाई के जवाफ दिनुभयो त ?
हामीले ‘तपाईंको कुरा ठीकै हो । हामीले पार्टीभित्र छलफल गर्नुपर्छ’ भन्यौं । सभापतिज्यूले ‘भोलि म पार्टीका साथीहरुसँग सल्लाह गर्छु, त्यसका लागि बैठक बोलाएको छु’ भन्नुभयो । त्यही बैठकले के गर्ने भन्नेबारेमा निर्णय गर्छ । अहिले अरु के भनौं !
प्रचण्ड भर्खरै तपाईंहरुसँग गठबन्धन तोडेर गएको नेता । उहाँसँग कुराकानीको तरिका चाहिँ कस्तो रह्यो ? कत्तिको सौहार्द्धपूर्ण रह्यो ?
होइन, उहाँसँग कुराकानी सौहार्द्धपूर्ण नै हुन्छ । आज पनि सौहार्द्ध नै भयो । यसमा अप्ठेरो मान्नुपर्ने केही छैन । राजनीति हो ।
कुनै ‘हार्ड फिलिङ थिएन ?’
अहँ, थिएन । राजनीति हो नि ।
०५१ सालमा मनमोहन अधिकारीको अल्पमत सरकार बन्दा कांग्रेसले विश्वासको मत दिएको थियो । यसपालि पनि माओवादी–एमाले गठबन्धनको हकमा कांग्रेसको नीति त्यस्तै हुने हो ?
ए, ०५१ सालमा त्यस्तो भएको थियो ?
थियो, थियो । हामीले त्यस बेलाका दस्तावेज पढेर चाल पाएको ।
(हाँस्दै) खोई, अहिले कसरी भन्न सकिन्छ र ! भोलिसम्म हेरौं न । कुरौं न ।
तपाईंहरुले प्रचण्डलाई भोट दिने आश्वासन दिनुभएछ ।
मैले त्यस्तो कहाँ भनेँ र ? हामीले उहाँलाई त्यस्तो आश्वासन दिइसकेका छैनौं । पहिले पार्टीमा कुरा गर्नुपर्छ । यही हो कुरो ।
तर प्रचण्डको बारेमा तपाईंहरु अलिक सकारात्मक नै भएको पाइयो ।
नकारात्मक हुनुपर्ने के छ र ? राजनीतिमा आफ्नो आफ्नो कुरा हुन्छ । कांग्रेसले आफ्नो निर्णय गर्छ । भोलि गर्छ ।
प्रतिक्रिया 4