
२६ पुस, काठमाडौ । नेपाल धितोपत्र बोर्डले रिडी पावर कम्पनीको अध्यक्ष गुरुप्रसाद न्यौपानेलाई नगद जरिबाना गराएको छ । सञ्चालकमा रहँदा अनधिकृत रुपमा आफैं सञ्चालक रहेको कम्पनीको सेयर बिक्री गरेपछि बोर्डले न्यौपानेलाई नगद जरिबानासहित १० वर्ष कुनै पनि पब्लिक लिमिटेड कम्पनीको सञ्चालक वा व्यवस्थापक हुन नपाउने गरी कारबाही गरेको हो ।
२४ पुसमा बसको बोर्ड सञ्चालक समितिको बैंठकले कम्पनीका अध्यक्ष न्यौपानेलाई सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिका विपरीत धितोपत्र कारोबार गरेकोलेे धितोपत्र सम्बन्धी ऐन २०६३, दफा १०१ (७) अनुसार ७५ हजार रूपैयाँ जरिबाना गरिएको बोर्डले जनाएको छ ।
यस्तै उनलाई धितोपत्र सम्बन्धी ऐनको दफा १०८ अनुसार १० वर्षसम्म कुनै पनि पब्लिक लिमिटेड कम्पनी वा संस्थाको सञ्चालक, महाप्रबन्धक वा सो सरहको पदमा बहाल हुन नसक्ने गरी कारबाही भएको बोर्डले जनाएको छ ।
‘कुनै संचालक, महाप्रवन्धक वा सो सरहको कुनै पद धारण गरेको व्यक्तिले दफा १०१ बमोजिम कुनै सजाय पाएमा त्यस्तो सजाय पाएको मितिले १० बर्षको अवधि पूरा नभएसम्म कुनै पनि पब्लिक लि. कम्पनी वा संस्थाको सञ्चालक, महाप्रवन्धक वा सो सरहको पदमा बहाल हुन योग्य हुने छैन,’ धितोपत्र सम्बन्धी ऐन २०६३, दफा १०८ मा भनिएको छ ।
न्यौपानले रिडी पावरका अध्यक्ष रहँदा १९ चैत २०७७ देखि ४ भदौ २०७८ सम्म रिडी हाइड्रोपावरको २८ हजार ९५३ कित्ता सेयर किनेर ३९ हजार २२३ कित्ता सेयर बेचेका थिए । सो विषयमा बोर्ड विभागीय अध्यन गराएर ६ पुस २०७८ मै कारबाही सिफारिस भएको थियो ।
२५ मंसिर २०७९ मा बसेको बोर्ड सञ्चालक समितिको बैंठकले न्यौपानेलाई कारबाही गर्ने निर्णय गर्दै उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेकेा थियो । उनलाई बोर्डले हदै सम्मको कारबाही किन नगर्ने भन्दै १५ दिनको म्याद दिएर स्पष्टीकरणमा सोधेको थियो ।
सोही दिन बोर्डले नेपाल हाइड्रो डेभलपर्स कम्पनीका तत्कालीन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानलाई पनि कारबाही गर्ने निर्णय गर्दै स्पस्टीकरण सोधेको थियो । प्रधानले कम्पनीको अध्यक्ष पद छाड्नसाथ नियम विपरीत श्रीमती, छोरा र छोरीको नाममा रहेको ६ करोड रुपैयाँभन्दा बढी मूल्यको सेयर बिक्री गरेका पाइएको भन्दै बोर्डले कारबाही गर्ने निर्णय गरेको थियो ।
प्रधानले बोर्ड सोधेको स्पष्टीकरण पत्र बुझने ढिलाइ गरेका र स्पस्टकरणको जवाफ प्राप्त हुन ढिलाइ हुँदा प्रधानलाई हुने कारबाहीको निर्णय नभएको बोर्ड स्रोतले जनाएको छ । प्रधानलाई अब बस्ने बोर्ड सञ्चालक समितिको बैठकले कारबाहीको निर्णय गर्ने स्रोतको दाबी छ ।
सञ्चालक समितिमा रहँदा वा सञ्चालक समिति छोडेको एक वर्षभित्र आफू वा एकाघरको व्यक्तिले सम्बन्धित कम्पनीको सेयर कारोबार गर्न नपाउने व्यवस्था छ । तर, आफू सञ्चालक समिति अध्यक्ष वा सञ्चालक समिति सदस्य हुँदाहुँदै र पद छाड्नासाथ सेयर कारोबार गरेको भेटिएको बोर्डको अनुसन्धानबाट देखिएको जनाएको थियो । बोर्डले प्रधान र न्यौपाने दुबैमाथि ‘इन्साइडर ट्रेडिङ’ को अनुसन्धान गर्नको लागि तहकिकात अधिकारी समेत तोकेको छ ।
प्रतिक्रिया 4