
२७ पुस, सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्माले आज दाबी गर्ने भएका छन् ।
शर्माले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदको समर्थनमा मुख्यमन्त्रीम दाबी पेस गर्न लागेका हुन् ।
माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीका अनुसार बुधबार अपहाह्न ४ बजे बहुमत प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुख तिलक परियारसमक्ष दाबी पेस गर्ने तयारी छ ।
प्रदेश प्रमुख परियारले आज बेलुका ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आहृवान गरेका थिए ।
प्रदेशमा सरकार गठनका लागि माओवादी केन्द्र र नेकपा एमालेका तयारीमा जुटेका छन् । दुई दलका नेताहरुबीच सरकारमा सहभागिताबारे निरन्त छलफल भइरहेको अध्यक्ष केसीले बताइन् ।
नेकपा एमाले संसदीय दलको मंगलबार बसेको बैठकले सरकारमा सहभागी हुने-नहुने, समर्थन गर्ने, नगर्नेलगायतका विषयमा निर्णय गर्ने अधिकार दलका नेता यामला कँडेललाई दिएको छ ।
४० सदस्यीय प्रदेशसभामा बहुमतका लागि २१ मत आवश्यक पर्छ । नेकपा माओवादी केन्द्रको १३, एमालेको १० र राप्रपाको १ गरी सत्तारुढ दलसँग २४ जना सांसद छन् ।
त्यस्तै प्रदेश सभाको ठूलो दल नेपाली कांग्रेसको १४ र नेकपा एकीकृत समाजवादीको १ सिट छ । एकजना स्वतन्त्र सांसद छन् ।
प्रतिक्रिया 4