
२७ पुस, बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता लिला गिरीले दावी पेश गरेका छन् । नेकपा एमालेका पोलिटब्यूरो सदस्य समेत रहेका गिरीले ५८ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दावी पेश गरेका हुन् ।
गिरीलाई नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जना गरी ५८ सांसदको समर्थन रहेको छ ।
८७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४४ सांसद भए वहुमत पुग्छ । गिरीलाई प्रदेश सभाका १० मध्ये ७ दल र २ स्वतन्त्र सांसदको समर्थन रहेको छ ।
प्रदेश प्रमुख शेरचनले पुस २७ गते ४ बजेसम्म मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका थिए ।
लुम्बिनीमा नेकपा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका १० (पार्टी प्रवेश गरेका १ जना स्वतन्त्र सहित), राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४–४ सांसद छन् ।
यस्तै जसपा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमतका ३–३ जना, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक–एक जना तथा माओवादी केन्द्रका बागी (स्वतन्त्र) ३ सिट जितेका छन् । रोल्पा १ (२)बाट विजयी दीपेन्द्र कुमार पुनमगर भने माओवादी केन्द्रमै फर्किसकेका छन् ।
प्रतिक्रिया 4