+
+

चिनियाँ टोलीले रसुवा पुगेर थाल्यो केरुङ–काठमाडौं रेलमार्गको विस्तृत अध्ययन

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २७ गते २०:१९

२७ पुस, काठमाडौं । बहुचर्चित काठमाडौं–केरुङ अन्तरदेशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन सुरु भएको छ । चीनबाट १२ पुसमा आएको प्राविधिक टोलीले रसुवा र नुवाकोट पुगेर विस्तृत अध्ययन थालेको हो ।

रेल विभागको टोलीसँगै रसुवा पुगेको टोलीले त्यहाँको भौगोलिक अवस्थाको अवलोकन गर्दै विस्तृत परियोजनाको अध्ययन सुरु गरेको हो । चीन सरकारको चाइना रेल–वे सर्भे एन्ड डिजाइन ग्रुप कम्पनी लिमिटेडका प्राविधिकहरु रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालसँग रसुवा र नुवाकोट पुगेका थिए ।

विभागका अनुसार चिनियाँ प्राविधिक टोलीले साढे ३ वर्षमा विस्तृत सम्भाव्यता प्रतिवेदन तयार गरेर बुझाउनेछ । पहिलो एक वर्षमा सर्भेको काम सकिने छ भने त्यसपछिको डेढ वर्षभित्र फिल्डमा पुगेर नापी र नक्साङ्कको काम गरिनेछ । अर्को एक वर्षभित्र इन्जिनियरिङ अध्ययन प्रतिवेदनलाई अन्तिम रुप दिएर पेश गर्ने कार्यतालिका छ ।

विभागका एक अधिकारीका अनुसार चिनियाँ टोलीले काठमाडौंमा नै कार्यालय राख्नेछ । अध्ययनका लागि काम गर्न फिल्ड पनि पनि क्याम्पहरु स्थापना हुनेछन् । चीनले आफ्नै खर्चमा अध्ययनको काम गर्नेछ । सुरक्षा र सहजीकारणको काम नेपाली पक्षले गर्नेछ ।

चीनले २४ मंसिर २०७५ मा हस्तान्तरण गरेको केरुङ–काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदनअध्ययन अनुसार विस्तृत अध्ययनको काम यतिबेला सकिनु पर्ने थियो । केरुङ–काठमाडौं, काठमाडौं–पोखरा र पोखरा–लुम्बिनी रेलमार्गको डीपीआर बनाउने समझदारीपत्रमा २०७६ असोजमा भएको चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा हस्ताक्षर भएको थियो । त्यो समझदारी कार्यान्वयनका लागि कठमाडौंमा २०७६ मंसिर दोस्रो सातामा भएको नेपाल र चिनियाँ अधिकारीहरुको बैठकले काम बाँडफाँट गरेको थियो ।

चीन सरकारले कोरोना नियन्त्रणका लागि लिएको कडा नीतिका कारण लामो समयसम्म प्राविधिक टोली आउन सकेको थिएन । चीनले शून्य कोभिड-१९ नीति हटाएर यात्रा प्रतिबन्धहरु खुला गरेपछि यो परियोजनाको काम अब कार्ययोजनाअनुसार नै हुने अपेक्षा छ ।

अप्ठेरो भूगोलमा करिब ९८ प्रतिशत सुरुङमार्ग र पुल राखेर बन्ने आयोजना महँगो हुने निश्चित छ । त्यसैले आर्थिक लाभ विश्लेषणका आधारमा लगानी जुटेर रेलमार्ग निर्माण भएमा यो परियोजनाले नेपालको रेल्वे ‘कनेक्टिभिटी’ चीनको बन्दरगाहरुसम्म हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?