
२८ पुस, बिराटनगर । प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् ।
बिहीबार बसेको बैठकमा सभाका जेष्ठ सदस्यले गौतम निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।
सभामुखका लागि गौतमको मात्र उम्मेदवारी परेको थियो । सत्ता गठबन्धनमा भएको भागवण्डामा मुख्यमन्त्री एमालेले लिएपछि सभामुख माओवादी केन्द्रले पाएको थियो । माओवादीले ओखलढुंगाको प्रदेश सभा २ बाट निर्वाचित गौतमलाई सभामुख बनाएको हो ।
नेकपा एमालेका रेवतिरमण भण्डारी प्रस्तावक र नारायणबहादुर मगर लगायत समर्थक थिए ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नै दिएन ।
प्रदेश १ को पहिलो कार्यकालमा एमाले सांसद प्रदीपकुमार भण्डारी सभामुख बनेका थिए । प्रदेशसभाको दोस्रो कार्यकालमा गौतम सभामुख बनेका हुन् ।
प्रदेश १ को उपसभामुखको निर्वाचन भने पुस ३० गतेका लागि तोकिएको छ । एमालेबाट उदयपुरकी सिर्जना दनुवार, भोजपुरकी सिर्जना राई, मोरङकी मालती सुब्बा उपसभामुखको दाबेदार छन् ।
उपसभामुखको निर्वाचनका लागि मनोनयन दर्ता आज हुँदैछ ।
प्रतिक्रिया 4