
२५ मंसिर, बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री लगायत अन्य मन्त्रीको पद तथा गोपनीयताको सपथ ग्रहणमा ढिलाई भएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले दिउँसो १ बजेका लागि शपथग्रहणको समय दिएका थिए । सत्ता साझेदार माओवादी केन्द्रबाट दलका नेता जोखबहादुर महराले विना विभागीय मन्त्री बन्न इन्कार गरेपछि शपथ ग्रहणमा ढिलाइ भएको हो ।
महराले शपथ नलिने भएपछि बाँकेबाट निर्वाचित कृष्णा केसीलाई शपथका लागि पठाउने निर्णय गरेको माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए ।
महराले अर्थ वा शहरी विकास मन्त्रालयको दाबी गरेका छन् । ‘मन्त्रालयको टुंगो नलागी दलको नेताले विना विभागीय मन्त्रीको सपथ लिँदा राम्रो म्यासेज जाँदैन भनेर कृष्णा केसीलाई पठाउने निर्णय भएको छ’, बरालले अनलाइनखबरसँग भने ।
नेता महरा मुख्यमन्त्रीको दाबेदार थिए । एमालेबाट दलका उपनेता चेतनारायण आचार्यले मन्त्रीको शपथ लिने उक्त पार्टीको संसदीय दलका एक सांसदले बताए ।
माओवादी केन्द्रलाई समेटेर आज सानो आकारको मन्त्रिपरिषद् बनाउने र बाँकी दलहरुसँग छलफल गरेर विस्तार गर्ने मुख्यमन्त्री लिला गिरी निकटका एक नेताले बताए ।
प्रतिक्रिया 4