
मुलुक संघीय गणतन्त्रमा गई नयाँ संविधान जारी भएपछि दोस्रोपटक प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन मंसिर ४ गते सम्पन्न भयो । प्रत्यक्ष र समानुपातिक निर्वाचन परिणामले कुनै पनि दललाई बहुमत दिएन ।
जनादेशले नेपालमा क्रियाशील राजनीतिक दलहरूमध्ये कसैलाई पनि एकल बहुमतको सरकार बनाउने म्यान्डेड दिएन । अर्थात् दलहरू एकल बहुमतको सरकार बनाउन र चलाउन अक्षम छन् भन्ने साबित गरिदियो ।
आफूलाई सबैभन्दा ठूलो र शक्तिशाली दल सावित गर्न प्रतिस्पर्धा गरेका सबै दलको जनमत खुम्चिएको छ । यो जनादेश भनेको कमजोर, अस्थिर र अस्थायी सरकारको द्योतक हो । यो निर्वाचन परिणामले एकातिर सिद्धान्तहीन गठबन्धन दल मिलेर सरकार बनाउनुपर्ने अवस्थाको सिर्जना गरेको छ भने अर्कोतिर कम्युनिष्ट पार्टीहरूबीच फेरि एकीकरणको चर्चा चलेको छ/चलाइएको छ ।
यसअघि केही कम्युनिष्ट पार्टीहरूबीच एकीकरण भएकै हो । जनादेश अनुसार करिब दुई तिहाइ बहुमतको कम्युनिष्ट सरकार पनि बन्यो । तर नेकपाले सरकार पूर्ण कार्यकाल चलाउन सकेन । अवैधानिक तरिकाले सरकार ढाल्ने काम मात्रै गरेनन्, नेपाल कम्युनिष्ट पार्टीलाई नै तीन वटा केन्द्रमा विभाजन गरे ।
दुई पटक असंवैधानिक रूपमा संसद विघटन समेत गराए । त्यही कम्युनिष्ट पार्टीहरूबीच फेरि एकीकरणको कुरा चल्दैछ । यस पछाडिको कारण के हो ? हिजो एकीकरण भएको कम्युनिष्ट पार्टीलाई किन विभाजन गरियो ?
हिजोको विभाजन ठिक थियो कि बेठिक ? हिजोको विभाजन ठिक थियो भने आज एकीकरणको आवश्यकता किन ? यी प्रश्नको उत्तर आम जनता र कम्युनिष्ट पार्टीका कार्यकर्ताले खोजिरहेका छन् । यो स्वाभाविक पनि हो ।
हुन त फुट र विभाजन भन्दा एकता नै राम्रो हो । भनिन्छ, ‘एकता नै बल हो ।’ एउटा लट्ठी सजिलै भाँच्न सकिन्छ होला तर लट्ठीको मुठा भाँच्न सकिन्न । तर अहिले कम्युनिष्ट पार्टीहरूका बीच एकता हुने कि एकीकरण ?
प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित शब्दकोशमा एकता भनेको एक हुनेको भाव वा अवस्था, विचार र उद्देश्य आदिमा सबै परस्पर मिलेर समानतासहित बराबरी बस्ने कामको एकता भनिएको छ । एकीकरण भनेको दुई वा दुईभन्दा बढी वस्तु, व्यक्ति, संस्था आदिलाई मिलाएर एक बनाउने काम हो । एकीकरण भनेको प्रक्रिया र प्रयास हो भने एकता भनेको परिणाम ।
‘राजनीतिमा कहिल्यै पनि स्थायी शत्रु वा स्थायी मित्र हुँदैनन्’ भन्ने नाराको लेपन लगाई सिद्धान्त र नीतिहीन राजनीतिक एकीकरणको यात्राले गलत गन्तव्यमा पुर्याउँदछ । पहिला हामी पार्टी एकता गर्ने कि एकीकरण ? भन्नेमा प्रष्ट हुनुपर्दछ । दृष्टिकोण सही भएन भने हामी सही गन्तव्यमा पुग्न सक्दैनौं । तसर्थ दृष्टिकोणमा भ्रम नपालौं ।
सत्तामुखी राजनीतिमा तीन वटा कम्युनिष्ट पार्टीहरू नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच एकीकरणका लागि पहलहरू भइरहेका छन् । ती पहल र प्रयासका मातहत केही प्रश्नहरू पनि उठिरहेका छन् ।
१. पहिले गरिएको एकता सही थियो भने तीन टुक्रा कसरी भयो ? पार्टीहरू किन, कसरी, कुन शक्ति र कसले गर्दा विभाजित भए ? यसको निर्मम समीक्षा हुनुपर्छ र उत्तर आम जनता र कार्यकर्तालाई दिनुपर्छ ।
२. हिजोका दिनमा गरिएको कम्युनिष्ट विभाजनले निम्त्याएको परिणामको समीक्षा हुनुपर्ने कि नपर्ने ? त्यस घटनाप्रति क–कसले आलोचना–आत्मालोचना गर्नुपर्ने कि नपर्ने ?
३. विश्वमै पहिलो पटक जननिर्वाचित करिब दुई तिहाइ बहुमतको कम्युनिष्ट सरकार, संघीय गणतान्त्रिक नेपालको पहिलो जननिर्वाचित नेपाल कम्युनिष्ट पार्टीको सरकारलाई सत्ताबाट सडकमा पुग्नुपर्यो । यसको दोषी को ?
खासगरी एकीकरणको चर्चामा रहेका तीन वटै कम्युनिष्ट पार्टी वृत्तमा चार खाले मनोविज्ञानहरू क्रियाशील देखिन्छन् । यसले केन्द्रीय नेता, पदाधिकारी र कार्यकर्ताहरूमा प्रभाव पारिरहेको छ ।
- विभाजनकारी मनोविज्ञान : यो भनेको कुनै पनि हालतमा कम्युनिष्ट पार्टीहरू मिल्नुहँदैन र मिल्न दिनु पनि हँुदैन । यो भनेको साम्राज्यवादी, विस्तारवादी, एकाधिकार पूँजीवादी, दलाल नोकरशाही पूँजीवादी एवं माफियातन्त्रको सोच हो । प्रष्ट रूपमा भन्नु पर्दा यो समाजवाद विरोधी सोच हो ।
- अवसरवादी मनोविज्ञान : यदि पार्टी एकीकरण भयो भने उपभोग गरिरहेका पद, सुविधा, अवसरहरू खोसिने डर । भागबण्डा गर्नुपर्दा मान–सम्मानमा कमी आउने डर । यो आत्मकेन्द्रित र व्यक्तिवादी सोच हो । यो पनि समाजवाद विरोधी सोच नै हो ।
- मनोगतवादी मनोविज्ञान : कुनै पनि हालतमा, जसरी भए पनि पार्टी एकीकरण हुनुपर्दछ । सिद्धान्त, नीति, विचार, कार्यक्रम र कार्यदिशालाई तिलाञ्जली दिई एकीकरण गरिहाल्ने । किनभने एकीकरण भएपछि पार्टी ठूलो हुन्छ । ठूलो पार्टीको ठूलो नेता हुन पाइन्छ अनि ठूल्ठूला सुविधा, पद र अवसरको पनि उपभोग गर्न पाइन्छ । यसलाई आत्मसमर्पणवादी सोच भनिन्छ ।
- क्रान्तिकारी समाजवादी मनोविज्ञान : कम्युनिष्ट पार्टी भनेको आधारभूत वर्गीय जनताको पार्टी हो । कम्युनिष्ट पार्टी हार्नु भनेको जनता हार्नु हो । जनता हार्नु भनेको राष्ट्र हार्नु हो । त्यसैले जनता र राष्ट्रलाई बलियो बनाउन कम्युनिष्ट पार्टीहरूबीच एकता हुनु जरूरी छ ।
नेपाल कम्युनिष्ट पार्टी विभाजन भएको घटनालाई आम जनताले रुचाएका छैनन् । यो तथ्यलाई मंसिर ४ गते सम्पन्न निर्वाचन परिणामले पनि पुष्टि गरिदिएको छ । २०७४ सालमा सम्पन्न आम निर्वाचनमा नेपाली जनताको करिब ६८ प्रतिशत अभिमत नेपालको वाम आन्दोलनको पक्षमा थियो भने पछिल्लो निर्वाचनमा यो खुम्चिएर ४८ प्रतिशतमा पुगेको छ ।
यो भनेको हामी विस्तारै भारतको कम्युनिष्ट पार्टीको हालतमा पुग्ने संकेत हो । उनीहरूले पश्चिम बंगालमा ३४ वर्ष (ई.१९७७–२०११) सम्म राज्य गरे तर आज त्यहाँ कम्युनिष्ट पार्टी कता छ भनी खोज्नुपर्ने स्थिति बनेको छ ।
एकलौटी बहुमत प्राप्त गरी सत्ता हत्याउने सहित गरिएको निर्वाचनीय गठबन्धन (नीति, सिद्धान्त र मापदण्डहीन) गरी चुनाव लड्दा पनि सत्ता चलाउने बहुमत आएन । कम्युनिष्ट पार्टीहरू दोस्रो र तेस्रो स्थानमा थन्किनुपर्यो । नेकपा एकीकृत समाजवादी त राष्ट्रिय पार्टी हुनबाट समेत वञ्चित भयो ।
हुन त अहिले चुनावी गठबन्धन भत्किएपछि पुनः कम्युनिष्ट नेताकै नेतृत्वमा सरकार बनेको छ । २६८ जना प्रतिनिधिसभा सदस्यको समर्थनमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यसको नेतृत्व गरेका छन् । यो कति दिन टिक्छ, के कसरी काम गर्छ ? जनपक्षीय काम गर्छ वा गर्दैन त्यो भने हेर्न बाँकी नै छ ।
तर अहिले पनि एकीकरण पछाडिको रहस्यलाई बुझौं, कुटिल र षडयन्त्रपूर्ण चालहरूलाई सहज नलिऔं । ‘अगुल्टाले हानेको कुकुर बिजुली चम्कँदा तर्सिन्छ’ भने जस्तै एकपटक मात्रै हैन, पटक–पटक मनन गरौं । एकता पार्टीलाई बलियो बनाउनको लागि हुनुपर्छ, व्यक्तिलाई बलियो बनाउन होइन ।
एकता पार्टी निर्माण गर्नका लागि हुनुपर्छ ध्वंस गर्ने वा गुट बलियो बनाउन होइन । एकता निजी सत्ता प्राप्ति र सुरक्षाको लागि नभई राष्ट्र र जनतालाई बलियो बनाउनका लागि हुनुपर्दछ । व्यक्ति र नेतालाई बलियो बनाउने नभई नीति, सिद्धान्त, कार्यक्रम र कार्यदिशालाई बलियो बनाउने हुनुपर्दछ । हतार–हतार क्षणिक सत्ता प्राप्ति र सीमित नेताको स्वार्थको लागि एकीकरण गर्ने अनि फुर्सदमा पछुताउनुपर्ने अवस्था आउन दिनुहुँदैन ।
आम कार्यकर्ताहरूको सहमतिमा, पार्टीका केन्द्रीय नेता तथा पदाधिकारीहरूको आधिकारिक बैठकबाट निर्णय गरेर पार्टीको नीति, सिद्धान्त, कार्यक्रम र कार्यदिशाबारे स्पष्ट व्याख्या हुनुपर्छ । यो सँगसँगै पारदर्शी अनि सार्वजनिक घोषणासहितको एकता नै अहिलेको आवश्यकता हो ।
उधारोमा; मौखिक, गोप्य, सत्ता स्वार्थ तथा आत्मसमर्पणकारी कम्युनिष्ट एकता राष्ट्र र जनविरोधी कार्य हो । स्वाभिमानी, सम्मानजनक र सबैखाले निर्णयहरूमा समान–स्वामित्वसहितको कम्युनिष्ट एकता राष्ट्र र जनपक्षीय हुनेछ ।
(थापा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका पर्सा जिल्ला अध्यक्ष हुन् ।)
प्रतिक्रिया 4