
२८ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार दुई नेताबीच मुख्यत संघीय सरकारको मन्त्रालय भागवण्डा र प्रदेश सरकारको भागवण्डाको विषयमा छलफल भएको छ । सातवटै प्रदेश सरकार बनिसकेका छन् । अब संघीय मन्त्रिपरिषदलाई पूर्णता दिने र सँगसँगै प्रदेश सरकारलाई पनि पूर्णता दिने तयारी छ ।
‘दुई अध्यक्षले आ–आफ्ना पार्टीमा छलफल गर्नुहुन्छ । सत्ता साझेदार दलहरुका बीचमा पनि अनौपचारिक छलफल हुन्छ । त्यसपछि सत्ता साझेदार दलहरुको बैठक बस्ने कि सरकारमा सहभागी दलहरुसँग मन्त्रीको नाम माग्ने भन्ने तय हुन्छ’ प्रचण्डको सचिवालयले भनेको छ ।
ओली र प्रचण्डबीच सभामुख र उपसभामुखको निर्वाचन, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको विषयमा समेत छलफल भएको छ । ओलीको सचिवालयका अनुसार प्रचण्डले आफू समझदारीमा प्रतिवद्ध रहेको बताएका छन् ।
ओली र प्रचण्डबीच बुधबार साँझ ओलीकै निवास वालकोटमा पनि भेट भएको थियो । उक्त भेटमा पनि प्रचण्डले आफू समझदारीमा अडिग रहेको बताएका ओली र प्रचण्ड दुबै नेताको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया 4