
२९ पुस, धनगढी । सुदूरपश्चिम प्रदेशमा सभामुखको निर्वाचन अनिश्चित बनेको छ ।
बिहीबार भएको मतदानमा कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेपछि शुक्रबार बिहान ११ बजे पुन: मतदान गर्ने समय तोकिएको थियो ।
तर बिहान बसेको सर्वदलीय बैठकमा पुन: मतदानको विषयमा सहमति हुन नसकेपछि प्रदेशसभा सचिवालयले अनिश्चितकालका लागि बैठक स्थगित गरिएको जनाएको छ ।
सचिवालयका सूचना अधिकारी युवराज जैशीले सर्वदलीय बैठकमा सहमति नभएपछि प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको जानकारी दिए ।
उनकाअनुसार सर्वदलीय बैठकमा सभामुखको पुन: निर्वाचन र संवैधानिक अड्चनका विषयमा कानूनी परामर्श गर्ने मौखिक समझदारी बनेको छ ।
संविधानअनुसार प्रदेशसभा सदस्यहरूले सपथ ग्रहण गरेको १५ दिनभित्र सभामुख चयन गरिसक्नुपर्ने हुन्छ ।
सुदूरपश्चिममा प्रदेशसभा सदस्यहरूले १५ पुसमा पद तथा गोपनियताको सपथ लिएका थिए । उक्त समयअनुसार ३० पुसमा सभामुख चयन गरिसक्नुपर्ने हुन्छ ।
यहाँ सभामुखमा सत्तारूढ गठबन्धनबाट माओवादीका भीम भण्डारी र कांग्रेस गठबन्धनबाट मानबहादुर रावलले उम्मेदवारी दिएका छन् । बिहीबार भएको मतदानमा कुनै पनि उम्मेदवारले बहुमतका आवश्यक पर्ने मत ल्याउन सकेनन् ।
कुल ५० मत खसेकोमा भण्डारीले २६ र रावलले २३ मत पाएका थिए भने एक मत बदर भयो । बैठकमा सहभागी भए पनि एमालेका चक्र मल्ल निर्धारित समयभित्र प्रदेशसभा भवन भित्र जान नसक्दा मतदान गर्नबाट वञ्चित भएका थिए भने नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरी अनुपस्थित थिए ।
प्रतिक्रिया 4