
२९ पुस, मकवानपुर । बागमती प्रदेशसभाको आगामी माघ २ गते हुने उपसभामुख पदको निर्वाचनको लागि दलगतरुपमा तीन जना उम्मेदवारले आज अपराह्न आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउनेमा तीनै जना महिला उम्मेदवार छन्। सत्ता गठबन्धनको तर्फबाट नेकपा एमालेकी अप्सरा चापागाईंले उम्मेदवारी दर्ता गराएकी छन् । उनको प्रस्तावकमा कुमारी मोक्तान र समर्थकमा आशा लामा रहेका छन् ।
यसैगरी, नेपाली कांग्रेसको तर्फबाट सुना परियारले उम्मेदवारी दिएकी छन् । उनको प्रस्तावकमा उत्तम जोशी र समर्थक याङकिला शेर्पा रहेका छन् । यस्तै, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को तर्फबाट गीता काफ्लेले उम्मेदवारी दिएकी छन् । उनको प्रस्तावकमा सुरेन्द्रराज गोरसाईँ र समर्थकमा सृजना सैजू रहेका छन् ।
प्रदेशसभाको उपसभामुखको निर्वाचन आगामी माघ २ गते अपराह्न ३ बजेको समय निर्धारण गरिएको निर्वाचन अधिकृत तथा प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।
प्रदेशसभामा हाल विभिन्न सात राजनीतिक दलका गरी ११० जना प्रदेशसभाका सदस्य रहेका छन् ।
प्रदेशसभाको बैठक माघ २ गते
बागमती प्रदेशसभाको आज बसेको दोस्रो बैठकमा नवनिर्वाचित सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको उपसभामुख पदको निर्वाचन गर्न प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्कालाई निर्देशन दिए । आगामी माघ २ गते अपारह्न ३ बजे बस्ने बैठकमा उपसभामुख पदको निर्वाचनको लागि सभामुख पाठकले प्रुमख सचिव खड्कालाई समयतालिका सार्वजनिक गर्न निर्देशन दिएका थिए ।
सोही निर्देशनअनुसार, प्रदेशसभाका प्रमुख सचिव खड्काले उपभामुख पदको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेका हुन् । सार्वजनिक कार्यतालिका अनुसार, उपसभामुखको निर्वाचन माघ २ गते तोकिएको छ ।
नवनिर्वाचित सभामुख पाठकले शपथग्रहण लगत्तै प्रदेशसभा सचिवालयमा गई आफ्नो कार्यभार सम्हालेका छन् ।
उक्त बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात वटा राजनीतिक दलका शीर्ष नेताले नवनिर्वाचित सभामुख पाठकलाई बधाई ज्ञापन गर्दै प्रजातान्त्रिक मुल्यमान्यता संवैधानिक प्रक्रियालाई आत्मसात गरी प्रदेशको गरिमा बढाउन आग्रह गरे ।
उनीहरुले मुलुकको सार्वभौमसत्ता, प्रदेशको मुल्यमान्यतालाई मर्यादिन एवम् जनताप्रति उत्तरदायित्व बोध हुने गरी सभामुखले आफ्नो भूमिकालाई निष्पक्षताका साथ ग्रहण गर्न र सबै राजनीतिक दलको भावनालाई बुझेर प्रदेशसभाले लिनुपर्ने ऐन, कानून तर्जुमा गर्न सभामुखलाई सुझाव दिए ।
उनीहरुले कुनै दलको तर्फबाट उम्मेदवार भएर आएको भएपनि प्रदेशसभाबाट निर्वाचित भएका सभामुख सबैको साझा व्यक्तित्व भएको हुँदा प्रदेशसभा बैठकमा प्रस्तुत हुने विभिन्न विधेयक, ऐन कानूनलाई परिपक्व र मर्यादित ढङ्गबाट क्रियाशील हुन आह्वान गरे ।
बागमती प्रदेशसभाका नवनिर्वाचित सभामुख पाठकले प्रदेशसभाको अर्को बैठक माघ २ गते अपराह्न ३ बजे बस्ने गरी आजको बैठक स्थगित गरे । रासस
प्रतिक्रिया 4