
३० पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते बसेको प्रतिनिधि सभाको बैठकले आफूलाई अभूतपूर्व विश्वासको मत दिएको बताएका छन् ।
कम्युनिस्ट आन्दोलनका पूराना नेता, नेकपा (माओवादी केन्द्र) को जेष्ठ नागरिक सल्लाहकार मञ्चका केन्द्रीय सदस्य भुवनप्रसाद श्रेष्ठद्वारा लिखित ‘कम्युनिस्ट आन्दोलनका प्रेरक भुवन दाइ’ पुस्तकको लोकर्पण गर्दै उनले यस्तो बताएका हुन् ।
‘सिंगो सदन नै विश्वासको मत दिने अवस्थामा आयो । यो नेपाली राजनीतिमा असाधारण परिघटना भयो । करिब राष्ट्रिय सहमति नै भयो । यो मेरा लागि गौरवको विषय हो, चुनौती पनि हो । मैले त्यही ठानेको छु,’ उनले भने, ‘सिंगो देशलाई एकतावद्ध भएर जाने वातावरण बनेको छ, देश एकतावद्ध भएर जान्छ ।’
प्रधानमन्त्री प्रचण्डले पुस्तक विमोचन गर्न पाउँदा गौरवको अनुभूति भएको बताउँदै युवा जीवनको स्मृति भएको बताए ।
उनले बुढीगण्डकी जलविद्युत आयोजना, आरूघाट, बेनीघाट लार्के सडक, पर्यटनको विकासलाई प्राथमिकता दिनेसमेत आश्वासन दिए । ‘म त्यहीँको जनप्रतिनिधि हुँ, मेरो जिम्मेवारी बढेको छ,’ उनले भने ।
प्रतिक्रिया 4